Tuesday, March 25News That Matters

क्षणभरमै सारा खुसी विलाए…

भोटराज राई/उदयपुर
पूर्णपुष्टि, कात्तिक १४ गते ।

ओखलढुंगाको विसंखुगडी गाउँपालिका ७ का जगत राईलाई आफ्नी अर्धाङ्गीनीसंग यसवर्षको तिहार संगै मनाउने अबसर मिलेन, जिन्दगीभर संगै बस्न नपाउने अवस्था पनि आइलाग्यो ।

तिहार मान्न माइती गएकी श्रीमती घर आउदाआउदै बीच बाटैमा दुर्घटनामा परेर स्वर्गबास भएपछि तीहार संगै मनाउन नपाएपनि जिन्दगी संगै कटाउने उनको इच्छा अधुरै बन्न पुगेको छ । उदयपुरको कटारी नगरपालिका– ११ लेखानी गाउँको ठाटी भन्ने ठाउँमा कात्तिक १३ गते (सोमबार) भएको ना १ ज ३४०४ नम्बरको टाटासुमो दुर्घटनामा अन्दाजी २४ बर्षिय श्रीमती अन्जना राईलाई उनले गुमाउन पुगेका छन् । “श्रीमती आउदै गरेको खबरले खुसी थिएँ, तर बेलुका दुर्घटनाको दुखद खबर सुनेपछि क्षणभरमै सारा खुसीहरु विलाएर गए” राईले भन्नुभयो ।

“२०७३ सालको दिपावली त संगै मनाइयो मेरी मनकी उनीसंगै तर, ०७४ को दिपावली … ? उनी अनि म … ? समयको चुनौतीसंग कस्ले के गर्न सक्छौं रहेछ !” यसरी, श्रीमतीसंग छुटेर यसवर्षको तिहार मनाउदाको विस्मत पोखेको उनको फेसबुक स्टाटस् निकै मार्मिक छ ।

संयोगबस श्रीमतीसंगै रहेकी ३ बर्षिय छोरी क्रिस्टिना सकुशल पाएकोमा थोरै भएपनि उनको मनमा राहत मिलेको छ । जीप दुर्घटना हुदैगर्दा आमाले छोरीलाई बाहिर फ्याकिदिएर बालिकाको ज्यान बचेको हुनसक्ने अनुमान गरिएको छ । उनीे मंगलबार एक हातले छोरी अंगाल्दै, अर्को हातले जीवनसाथीको लास अंगाल्दै घरतर्फ लागे । दुर्घटनामा विभत्सरुपले ८ जनाको घटनास्थलमै मृत्यु भएको अवस्थामा बालिकालाई संयोगबस भिरको बुट्टामा अल्झिएर सकुशल रहेको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले बताउनुभयो । बालिकालाई उद्धारपछि कटारी अस्पतालमा प्राथमिक उपचार गरि कटारीकी गोमा राईले रेखदेख गर्नुभएको थियो । बालिकासंगै उपचारका लागि कटारी अस्पताल ल्याइएका सुमो चालक कटारी नगरपालिका २ का हरी कार्कीको उपचारकै क्रममा मृत्यु भयो भने अर्की एक गम्भिर घाइते ओखलढुंगाको बरुणेश्वर गाउपालिका ७ का १८ बर्षिया कुमारी भित्रीकोटीको केएमसी हस्पिटल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नौ जना मृतकहरु ओखलढुंगा विसंखुगडी गाउँपालिका ७ का अन्दाजी ३२ बर्षिय इश्वर भट्टराई, सोही ठाउँकी अन्दाजी २४ बर्षिया अन्जना राई, सोही जिल्लाको बरुणेश्वर गाउपालिका ७ का १९ बर्षिय दिपक भित्रीकोटी, ओखलढुंगामा नेपाली सेनामा कार्यरत सप्तरी बैखा ६ का २५ बर्षिय रुपेन्द्र बर्मा, सोही जिल्लाको कबलासी ३ बस्ने गंगाराम साह, सोही जिल्ला पत्थरगाडा ४ का ३५ बर्षिय राधेश्याम महतो, सप्तरीकै मिथिलेस साह, उदयपुरको बेलका नगरपालिका ३ का अन्दाजी २० बर्षिय सन्देश किराती राई र कटारी नगरपालिका २ का चालक हरि कार्कीको सब पोष्टमार्टमपछि सद्गद्का लागि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सिद्धिचरण लोकमार्ग अन्तर्गतको कटारी–घुर्मी सडकखण्डको दुरावस्थाका कारण दुर्घटनामा परी राईले जीवनसाथी गुमाउनु परेजस्तै अन्य आठ परिवारले आफन्त गुमाएका छन् । सो दुर्घटना त्यस क्षेत्रको अहिलसम्मकै सबैभन्दा बढी मानवीय क्षती भएको घटना ठूलो हो । गतसाल पनि उक्त क्षेत्रमा एक दुर्घटनामा छ जनाले ज्यान गुमाएका थिए । छिटफुट दुर्घटनाहरु अनगिन्ति हुने गरेको स्थानीय बताउछन् ।

जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले दुर्घटनाको प्रत्यक्षदर्शी, साँझीप्रमाण कोही पाउन नसकिएकाको खास कारण पत्ता लगाउन नसकिएको बताउनुभयो ।

हिमाली यातायात व्यवसायी संघ, कटारीका इन्चार्ज सत्रुधन कार्कीका अनुसार दुर्घटनाको वास्तविक कारण पत्ता लाग्न नसकेपनि सडकको नाजुक अवस्था नै प्रमुख कारण हुनसक्छ । आफुले जान्दा बुभ्mदासम्म चालक असल रहेको र घटनास्थललाई अध्ययन गर्दा चालकले बचाउने प्रयास गरेकोले लापरवाही भन्दा सडकको दुरावस्थाका कारण जीप विग्रेर दुर्घटना भएको हुनसक्ने उहाँले बताउनुभयो । दुर्घटना भएको ठाउँ खाल्डाखुल्डी, साँगुरो, घुम्ति रहेको सबैभन्दा जोखिम ठाउँ भएकाले उक्त क्षेत्रमा सडक मर्मत, स्ताोन्नतीका साथै रेलिङवार मात्र लगाउन सकेपनि सानासवारी साधन अडिनसक्ने उहाँको भनाई छ ।