
पूर्णपुष्टि, जेष्ठ १५ । त्रियुगा नगरपालिकाले राष्ट्रिय गणतन्त्र दिवस २०८० को अवसरमा जिल्ला अस्पताल उदयपुरका विरामीहरुलाई फलफुल वितरण गरेको छ । आज (सोमबार) नगर प्रमुख बसन्त बस्नेत सहितको टोलीले अस्पतालका करिब १ सय बिरामीलाई फलफुल वितरण गरेका हुन् ।
फलफुल वितरण गरेका प्रमुख बस्नेतले बिरामीको स्वास्थ्य अवस्थाबारे बुझ्दै स्वास्थ्य लाभको कामना समेत गरेका थिए । मेयर बस्नेत सहित उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, वडा ११ का वडा अध्यक्ष सुमन्त कोइराला, वडा नं २ का वडा अध्यक्ष घमान सिंह खत्री, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल र नगरपालिकाका कर्मचारीहरुले समेत फलफुल वितरण गरे।
यस्तै माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले पनि जिल्ला अस्पताललाई सेवा ग्राही बस्ने एक थान स्टिलको कुर्सी उपलब्ध गराएको छ । उक्त स्टिलको कुर्सी नगर प्रमुख र उपप्रमुखले जिल्ला अस्पतालाई हस्तान्तरण गरेका थिए ।
यसैगरी त्रियुगा नगरपालिकाको कृषि शाखाले पाँच हजार चारसय किलोग्राम उन्नत जातको धानको विउ किसानलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्रमा आयोजित धानको विउ वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख वस्नेतले किसानहरुको जग्गाको क्षेत्रफलका आधारमा आवश्यक पर्ने विउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताउनुभयो ।
