
पूर्णपुष्टि, फागुन १६
म्यग्दीको बेनी नगरपालिका–९ को गलेश्वरको शिवालय मन्दिरको छाना पित्तलले छाईने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।
मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा पाँच लाख ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गर्ने घोषणा गरेको जनाएको छ । मन्दिरको छाना अहिले सिमेन्टको छ । बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने कोषले जनाएको छ ।
शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा नगद २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए । पित्तलको छाना राख्न २५ लाख लागत अनुमान गरिएको छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।
हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ ।
गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको छ ।
