पूर्णपुष्टि, माघ ३ । उदयपुरको सदरमुकाम गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । विश्व बैंकले गर्ने ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत त्रियुगा नगरपालिका वडा नं १०, ११ , १२ र १३ मा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो ।
स्थानिय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ भने विश्व बैंकसँग एक अर्ब ५० करोड अमेरिकी डलर (करिब रु दुई खर्ब) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता गरेको छ ।
गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एक अर्ब बढी रुपैयाँमा सडक निर्माण हुने लागेको र ४ वटै वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरि ठेक्का प्रक्रिया शुरु भएको त्रियुगा नगर पालिकाका मेयर बसन्त बस्नेतले जानकारी दिए । मेयर बस्नेतका अनुसार उक्त परियोजना अन्तर्गत त्रियुगा नगरपालिका छनोटमा परि गाईघाट बजारका सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) रकम उपलब्ध गराएको छ ।
गाईघाट टावन प्लानिङ्गका सडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजि चोक – फुलचोक – बोटेटोल – त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगती टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषी बजार पश्चिम बाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक निर्माण हुने मेयर बस्नेतले बताए । अन्तराष्ट्रिय स्तरको मापदण्डमा बन्ने सडक डवल लेनको हुने, स्टेट लाइट सहित सम्पूर्ण सुविधा उपलब्ध हुने छ ‘मेयर बस्नेतले भने’ नगरभित्रका दुई राजमार्ग–मदन भण्डारी र सगरमाथालाई जोड्दै बजार एरिया महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोड निर्माण गर्ने गरि सडकहरुको छनोट गरिएको छ।