घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङक अनुसार उदयपुरमा कृषि उद्योग बढी

पूर्णपुष्टि, पुष १७
घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ (चौधरी) का अनुसार विभिन्न आठ किसिमका उद्योगहरु मध्ये कृषि तथा वन पैदावारमा सर्बसाधारणको बढि आकर्षण देखिएको छ । जिल्लामा कुल उद्योग संख्या ३ हजार ९७८ मध्ये १ हजार ५९६ वटा कृषिसंग सम्बन्धीत रहेका छन् । उर्जामुलक, उत्पादनमुलक, खनिज, पूर्वाधार, पर्यटन, सुचना प्रविधि, सेवामुलक र कृषितथा वन पैदावार गरी आठ किसिमका उद्योगहरु सो कार्यालयमा दर्ता हुन्छन् ।

कृषि अन्तर्गत माछापालन, पशुपालन, कुखुरापालन, दुध उत्पादन, मासु उत्पादन, च्याउखेती, फलफुलखेती, तरकारीखेती आदि पर्दछन् । यी कामहरु परापूर्व कालदेखि नै गर्दै आएको र कम लगानीबाट पनि सुरु गर्न सकिने उद्यमी रामकुमार राईको भनाई छ । पछिल्लो समय यी कामहरु आधुनिकरुपले ब्यवसायिकरण बन्दै गएको छ । ब्यवसाय अनुरुपको विभिन्न मेसिन, औजार तथा साधनसमेतको प्रयोग बढेको छ ।

कृषि अन्तर्गतका उद्योग र उद्यमीहरुलाई सरकारलेसमेत सहुलियत कर्जा, प्राविधिक सहयोग, विउविजनको ब्यवस्था गरेको छ । घरेलु कार्यालय लगायतबाट मेसिन, औजार अनुदानमा उपलब्ध गराउने गरिएको छ । यी कारणहरुले पनि सर्बसाधारणको आकर्षण कृषि उद्योगतर्फ बढि भएको पाइएको छ ।

घरेलु कार्यालयको रेकर्डअनुसार जिल्लाको आठ पालिकाहरु मध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ९६४ उद्योग दर्ता छन् । सबैभन्दा कम ताप्ली गाउँपालिकामा १८ वटा मात्र छन् । कटारी नगरपालिकामा ४०६, चौदण्डीगढी नगरपालिकामा २८२, बेलका नगरपालिकामा १३३, उदयपुरगढी गाउँपालिकामा १४३, रौतामाई गाउँपालिकामा ७६ र लिम्चुङबुङ गाउँपलिकामा ४४ वटा दर्ता छन् । जिल्लामा घरेलु कार्यालयमा वाणिज्यतर्फ दर्ता संस्थाहरु ३ हजार २७० वटा दर्ता छन् । वाणिज्यतर्फ पनि सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ७७७ वटा दर्ता छन् भने सबैभन्दा कम ताप्लीमा ४ वटा मात्र दर्ता छन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा घरेलु कार्यालयबाट उद्योग दर्ता तथा नविकरणवापत ७६ लाख ५ हजार ६९० रुपैया राजस्व संकलन गरेको जनाएको छ । पछिल्लो समय उद्योग दर्ता तथा नविकरण गर्नेको संख्या बढ्दो छ । सरकारको सहयोग, सेवा र अनुदानका लागि दर्ता तथा नविकरण अनिवार्य भएको र जनचेतना बढेको कारण सर्बसाधारण, ब्यापारी, ब्यवसायी, उद्यमीहरु दर्ता तथा नविकरणमा आउने गरेको कार्यलय प्रमुख खाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: