Saturday, May 16News That Matters

त्रियुगा नगरपालिकाले सुरु गर्यो एसएमएस सुचना प्रणाली

पूर्णपुष्टि, पुष १६
“त्रियुगा नगरपालिकाका सम्पूर्ण टोल विकास संस्थाहरुलाई मोवाईल एस.एम.एस. सेवामा हार्दिक स्वागत छ । यस मोवाईल एस.एम.एस. सेवा मार्फत नगरको सूचना र गतिविधीहरुलाई नियमित रुपमा नगरबासीलाई जानकारी गराईनेछ” यो सुचना उदयपुरको त्रियुगा नगरपालिकाले एसएमएस सूचनाको प्रणाली मार्फत टोलटोलमा पुराएको छ । नगरले एसएमएस सूचना प्रणालीको सुरुवात गर्दै जनताहरुलाई सहज र सरल हिसावले सूचनाको पूहँच पराउने भन्दै एसएमएस सूचना प्रणाली सुरु गरेको जनाएको छ ।

पालिकाका मेयर बलदेव चौधरीले शुक्रबार ल्यापटपमा एसएमएस सुचना प्रणालीमा क्लिक गर्दै सुरुवात गर्नुभयो । मेयरले क्लिक गरे लगत्तै ३७५ वटा टोल विकास संस्थाका अध्यक्षहरुको मोवाईलमा एसएमएस सुचना पुग्यो । मोवाईलमा यस्तो सुचना आए लगत्तै टोल विकास संस्था नविकरण गर्ने र कोभिड १९ विरुद्धको खोप लगाउनेबारे सुचनाहरु पनि आयो । टोल विकास संस्थाका अध्यक्षहरु खुसी भए । घर, टोलमै नगरपालिकाको सुचना सिधै आउने भएपछि सुचनामा पहुँच पुग्ने कुराले अध्यक्षहरु खुसी भएका हुन् ।

“अव, नगरपालिकाको सुचनामा हाम्रो पहुँच पुग्ने भयो” साकेला टोल विकास संस्थाका अध्यक्ष विसेश्वर राईले भन्नुभयो । यसको माध्यमबाट नागरिक र नगरपालिकालाई सुचनाको हिसावले जोड्न सजिलो हुने विश्वास लिइएको छ । नगरपालिकाको विभिन्न अंग र संयन्त्रहरु मध्ये टोलि विकास संस्था पनि एक हो । टोल विकास नगरबासीको सबैभन्दा नजिक र उनीहरुकै नेतृत्वमा रहेको हुन्छ । गाउँको समस्य र आवश्यकतालाई नजिकबाट बुभ्mने र जानकार हुने भएकाले नगरपालिकाले टोल विकास संस्थामार्फत नै कामहरु गर्ने गर्दछ । तसर्थ, नगरपालिकाको सुचनाहरु टोल विकास संस्थाहरुमा पुग्नु अनिवार्य छ । विगतमा वडामार्फत पठाउने गरेपनि प्रभावकारी ढंगले प्रवाह हुन नसक्दा नागरिकहरु सुचनाबाट बन्चित बन्ने गरेका थिए । यिनै कुरालाई मध्येनजर गर्दै एसएमएस सुचना प्रणालीको विकास गरिएको मेयर चौधरीले बताउनुभयो ।

नागरिकहरुको जान्न पाउने सुचनाको हककोसमेत सम्मान गर्दै पालिकाका महत्वपूर्ण सबैखाले सुचनाहरु अब एसएमएस मार्फत मोवाईलमा पठाउने गरिन्छ । घर, टोलमै रहेर टोल विकास संस्थाहरुले सुचना प्राप्त गर्छन् र टोलबासी नागरिकहरुमा पुग्ने उहाँको आशा छ । सुचनाको रुपमा टोल विकास संस्थाले जान्न र बुभ्mनै पर्ने कुराहरु, सार्बजनिक महत्वका कुराहरु, संस्था दर्ता नविकरण तथा लेखा परिक्षण जस्ता कुराहरुको सुचना प्रवाह हुनेछन् । नगरपालिकाको सूचना तथा प्रविधि शाखाले एक क्लिकमा धेरैवटा टोल विकास संस्थाको सम्बन्धीत ब्यक्तिको मोवाईलमा सुचना पठाउने नगरपालिकाका सामाजिक शाखा प्रमुख एवम् सुचना अधिकारी विश्वजित राईले बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर राईले एसएमएस सुचना हेर्दा सामान्य भएपनि यसको महत्व ठूलो रहेको बताउनुभयो । ३ वर्षअघि नै यसको परिकल्पना गरिए पनि अहिले प्रयोगमा ल्याउन सफल भएकोमा अव प्रभावकारी बनाउने बताउनुभयो । सुचना र प्रविधिमा फड्को मारेमात्र विकासले फड्को मार्ने ठहर गर्दै नगरपालिकाले यस्ता प्रविधिको प्रयोगमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो । एसएमएस सुचना प्रणाली उद्घाटनसंगै नगरपालिका र टोल विकास संस्थाहरुबीच अन्तर संवाद कार्यक्रम सम्पन्न भयो । टोल विकास संस्थाका पदाधिकारीहरुले मेयर चौधरीसंग प्रत्यक्ष रुपमा समस्या र आवश्यकताका कुराहरु राखेका थिए । मेयर चौधरीले उनीहरुको जिज्ञासा तथा समस्याहरुको बारेमा सम्बोधन गर्नुभयो ।