Friday, May 22News That Matters

चिठ्ठा परेको भन्दै ठगी गर्ने ७ जना पक्राउ

पूर्णपुष्टि, असार ११ 

सामाजिक सञ्जालबाट चिठ्ठा परेको भन्दै करोडौँ रकम ठगी गर्ने सात जना पक्राउ परेका छन् ।

झापा, भद्रपुर नगरपालिका घर भई काठमाण्डौ बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, भारत विहारका एमडी सर्फराज, रौतहटका एस अग्रवाल, पर्साका कृष्णप्रसाद साह र सुनिल साह पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।

यसरी ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी उनीहरुलाई ठगी गरेका थिए ।

अहिलेसम्म उनीहरुबाट एक करोडभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।  उनीहरुले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेको समेत फेला परेको छ । कतिपय पीडितले पैसा पाउने आशमा आफ्नो घर जग्गासमेत धितो राखी घरबारविहीन भएको पाइएको छ ।

ठूलो रकम कमाउने चिठ्ठाको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ । यो घटनामा संलग्न गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।