
पूर्णपुष्टि सम्बाददाता
११ बैशाख, २०८३ । उदयपुर
उदयपुरको कटारी नगरपालिका -४ स्थित जयश्री मल्टी प्रपोज प्राइभेट लिमिटेडमा चोरी तथा लुटपाट गरेको आरोपमा स्थानीय रमेशकुमार कटुवाल पक्राउ परेका छन् ।
गत चैत्र २२ गते राती कम्पनीको कार्यालयमा जबरजस्ती प्रवेश गरेर ल्यापटप तथा महत्वपूर्ण कागजातहरु चोरी तथा लुटपाट गरेको उजुरीमा उनी आज पक्राउ परेका हुन् । राती कम्पनीका लेखापाल धिरज कार्कीलाई धम्क्याउदै जबरजस्ती कार्यालयमा प्रवेश गरेर सामान तथा कागजात चोरी तथा लुटपाट गरेको आरोप उनीमाथि छ ।
घटनाको भोलीपल्ट चैत्र २३ गते कम्पनीको तर्फबाट प्रहरीमा उजुरी परेको थियो । उजुरीको आधारमा कटुवाल आज पक्राउ परेकाे कटारी प्रहरीले जनाएको छ ।
कटारी नपा–४ मरुवाका कटुवाल र कम्पनीबीच शेयर दावीको विवाद चलिरहेको बुझिएको छ । कटुवालले शेयर अरुलाई विक्री गरेर बाहिरी भइसकेको अवस्थामा चोरी तथा लुटपाट गरेको आरोप कम्पनीको छ । कटुवालले भने कम्पनीमा शेयर हक लाग्ने दावी गर्दै आएका छन् । उनीहरुको विवाद चोरी तथा लुटपाट, प्रहरीमा उजुरी र पक्राउसम्मको अवस्थामा आएको हो ।
