Friday, April 24News That Matters

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा १४ लाख मृत्युदावी भुक्तानी

पूर्णपुष्टि सम्बाददाता
११ बैशाख, २०८२ । गाईघाट
सननेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले आज खोटाङको बाराहा पोखरी गाउँपालिका–३ को एक परिवारलाई १४ लाख रुपैया मृत्युदावी भुक्तादी प्रदान गरेको छ । बैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका चन्द्रकुमार तामाङको मृत्युदावी रकम उनको बुवा दिलकुमार तामाङलाई प्रदान गरिएको हो । मृतक तामाङ परिवारको जेठो छोरो थिए ।
विगत १० वर्षदेखि मलेशियामा रोजगारको सिलसिलामा रहेका तामाङको गत २०८१ पुस २९ गते हृदयघात भई मृत्यु भएको थियो । बैदेशिक रोजगारमा जानुअघि उनको नाममा म्यादी विमा गरिएको थियो ।
इन्स्योरेन्स शाखा गाईघाटका प्रमुख बालकुमार राईका अनुसार परिवारको दावी अनुरुप आज शाखा कार्यालयमा रकम वापतको चेक प्रदान गरिएको छ । रकम बुझ्न बुवा दिलकुमार र कान्छो भाइ भरत आएका थिए । यसरी इन्स्योरेन्स गराउदा मृतक परिवारलाई मुख्यगरी आर्थिक सुरक्षासंगै ठुलो राहत मिल्ने शाखा प्रमुख राईले बताउनुभयो । प्राप्त रकमले परिवारमा ब्यवहारिक बोझ कम गराउनुका साथै वालवालिकाको शिक्षादिक्षामा टेवा पुग्ने गरेको छ ।