Friday, April 24News That Matters

आसन, भाषण र शासनका लागि गाउँगाउँमा महिला सशक्तीकरण कार्यक्रम

पूर्णपुष्टि सम्बाददाता
११ वैशाख, २०८२ । उदयपुर
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आसन, भाषण र शासनमा महिलालाई अगाडि बढाउने उद्देश्यका साथ मदिना मन्जरी नजबुल फाउन्डेसनले समानता र पहिचानका लागि शिक्षाको महत्त्वबारे अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
”महिलाहरूको आफ्नै नाम र पहिचान – लैङ्गिक समानता र सशक्तिकरण हाम्रो अभियान” भन्ने नारासहित कार्यक्रम सञ्चालनमा छ । आभास अभियान अर्थात् आसनमा महिला भाषणमा महिला र शासनमा महिला भन्ने अभियानको मुख्य अभियानकर्ता नजबुल खान (निलम)को नेतृत्वमा कार्यक्रम सञ्चालन भइरहेको हो ।
कार्यक्रममाथि प्रकाश पर्दै उहाँले हरेक घर, हरेक पालिका – हुनुपर्छ साहसी बालिका भन्ने कार्यक्रमको मुल मर्म अनुरुप हरेक पालिकाको घरघरमा बालिकाहरु शाहसी बनाउने कार्यक्रम भइरहेको बताउनुभयो । “न माईती घर, न श्रीमानको थर, मलाई आफ्नै नामबाट चिनिने रहर” यो कार्यक्रमको अर्को सशक्त नारा हो । यसले महिलाहरुले आफ्नो नाम आफैले चिनाउनुपर्छ भन्ने सन्देश दिएको छ ।
वैशाख ९ र १० गते त्रियुगा नगरपालिका- ५ श्रीपुरमा, वैशाख ७ र ८ गते त्रिनपा-६ जलजलीमा कार्यक्रम भयो । आगामी वैशाख २१ र २२ गते त्रिणपा १२ दुर्गाटोलमा हुने जनाइएको छ ।
कार्यक्रमसँगै समुदायमा यसको प्रभावकारिता देख्न थालिएको आभाशा राष्ट्रिय अभियान प्रवक्ता सरिता राईले बताउनुभयाे । महिलाहरूले अरुको नाम, काम वा पेशाभन्दा पनि आफ्नै नामबाट चिनिनुपर्ने कुरा बुझेका छन् । कार्यक्रमको एक सहभागी श्रीपुरकी सिरिया पुर्कुटीले दाइजाे नलिने र नदिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । ”कार्यक्रमबाट जीवनभरि काम लाग्ने महत्वपूर्ण कुराहरू पाएको छु।” उहाँले भन्नुभयो ।
विशेषगरी समुदायका किशोरी एवं महिलाहरूलाई प्राथमिकतामा राखेर उनीहरूको सशक्तिकरणका लागि कार्यक्रम गरिएको फाउन्डेसनकी अध्यक्ष एवम्  कार्यक्रम प्रमुख खानले बताउनुभयो । उहाँको विशेषगरी आवास राष्ट्रिय अभियान, हानिकारक सामाजिक परम्परा, बालविवाह र दाइजो प्रथा विरुद्ध सचेतनामूलक प्रशिक्षण रहेको छ । उहाँले महिला सशक्तिकरण प्रेरित गीतसमेत तयारी गर्नुभएको छ । गीतले महिला नेतृत्व विकास र सामाजिक पहिचानका लागि प्रेरित गर्ने गरेको छ ।
महिला सशक्तिकरणका लागि सूचनामा पहुँच हुनुपर्ने भएकाले सूचना र सूचनाको हक सम्बन्धी सहजीकरण पत्रकार भोटराज राईले गर्नुभएको छ । स्वास्थ्य र महिला अधिकार तथा मर्यादित महिनावारीबारे डाक्टर निर्मला चौधरीले सहजीकरण गर्नुभएको छ । त्यसैगरी महिला समानता र समताबारे त्रियुगा नगरकी बालमैत्री एवं बालबालिका स्रोतव्यक्ति भीमा राईले सहजीकरण गर्नुभएको छ भने त्रियुगा नगर शिक्षा विभाग प्रमुख शिवकुमारी राउतको शिक्षा र समानताको बारेमा सहजीकरण गर्नुभएको छ ।
जलजलेमा त्रियुगा नगर कार्यपालिकाकी सदस्य गीता उप्रेतीको प्रमुख अतिथ्य रहेकाे थियो भने श्रीपुरमा प्रमुख अतिथि जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चतुरनारायण चौधरी, अतिथि महिला नेतृ बिमला सुनुवार हुनुहुन्थ्यो । उहाँहरूले गाउँँगाउँमा आयोजना गरिएको यस्तो कार्यक्रम प्रसंसनीय रहेको प्रतिक्रिया दिनुभएको छ । आभाशा राष्ट्रिय अभियान प्रवक्ता सरिता राई, सह प्राध्यापक नारायण ठकुरी, समाजसेवी दिपक वान्तवाले यो अभियान नेपालको सबै जिल्लामा पुग्नुपर्नेमा जोड दिदै शुभकामना दिनुभएको छ ।

कार्यक्रमका सहभागीहरूले कार्यक्रमले समाजमा राम्रो प्रभाव पारेको र किशोरीहरुमा दाइजो लिन र दिन सामाजिक अपराध रहेछ भन्ने चेतना फैलिएको बताएका छन् । कार्यक्रमको अनुगमन नगरपालिका सामाजिक शाखाकी कर्मचारी अम्बिका चौधरीले गर्नुभएको छ । कार्यक्रमको व्यवस्थापन संस्थाकी कर्मचारी सानु चौधरीले गर्नुभएको छ ।
तस्विरहरु :