
पूर्णपुष्टि,फागुन ७ । उदयपुरको कटारीमा आज देखि चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । आईतवार कटारी नगरपालिका ४ स्थित टाईगर फिल्डमा सुरु प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा कटारी नगरपालिका वडा नम्बर १ लाई १का विरुद्ध २ गोल गर्दै कटारी वडा नम्बर ४ ले विजयी सुरुवात गरेको छ । खेलको पहिलो हाफमा कटारी ४ का लागि अमन सदाले गोल गरेका थिए । सदाको गोलले अग्रता लिएको खेलको दोस्रो हाफमा ४ कै किरण कुमार दनुवारले दोस्रो गोल गरी खेललाई ० का विरुद्ध २ गोलको अग्रतामा पुराए । खेलको अन्तिम समयमा पेनाल्टी पाएको वडा नम्बर १का लागि एमबहादुर सुनुवारले गोल गरेका थिए ।
प्रजातन्त्र दिवशको अवसरमा नगर खेलकुद विकास समिति कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिताको उदघाटन गरिएको समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो । प्रतियोगिताको उदघाटन गर्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले खेलले शारिरिक विकास हुनुका साथै विकृति विसंगतिको अन्त्य गर्ने र सामाजिक विकास हुने बताउनुभयो ।
उदघाटन खेलमा म्यान अफ द म्याच कटारी ४ का अमन सदा घोषित भए । उनलाई समितिका अध्यक्ष दिपक लामाले नगद , मेडल , जर्सी प्रदान गर्नुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनुभयो ।
त्यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीलाई प्रमाण पत्र र मेडलका साथमा नगद २ हजार ५ सय प्रदान गरिनेछ । समितिका अनुसार म्यान अफ द म्याचलाई मेडल, प्रमाण पत्र र जर्सी सहित एकहजार नगद प्रदान गरिनेछ ।
प्रतियोगितामा कटारी नगरको वडा नम्बर १३ वाहेकका अन्य सवै वडा गरी १३ टिमले प्रतिष्पर्धा गर्नेछन् ।
