
पूर्णपुष्टि, असार २३ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष प्रकाश राउत विरुद्ध स्थानिय सुनिता श्रेष्ठले प्रहरीमा जाहेरी दर्ता गराएकी छन् ।
क्षेष्ठले आफुमाथी अध्यक्ष राउतले हातपात तथा दुव्र्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दर्ता गराएकी हुन् । उनी सूर्यदय सामुदायिक वन उपभोक्ता समितिको सचिव समेत रहेकी छन् । हिजो शुक्रबार सामुदायिक वन क्षेत्र अन्तर्गत पर्ने छेडी खोलाबाट अवैधरुपमा गिट्टी उत्खनन भइरहेको कार्यलाई रोक्न खोज्दा वडाध्यक्ष राउतले तथानाम गालिग्लोज गर्दै हातपात गरेपछि पक्राउ गरी कारबाहीको माग गर्दै उनिसहित पाँछु चौधरी,सुनिल कार्की र नीरबहादुर कार्कीले जाहेरी दिएको बताइन् ।
वडाध्यक्ष राउतको सहयोगी जीवन भनिने बालकुमार राईको विरुद्धमा समेत जाहेरी दिएको श्रेष्ठले बताएकी छन् । असार १ गतेदेखी असोज मसान्तसम्म नदिजन्य पदार्थको उत्खन्नमा रोक लगाईएको थियो । तर, नियम विपरित पटक पटक नदिजन्य पदार्थ उत्खनन गर्दै आएको क्षेष्ठले बताईन् । वडाध्यक्ष राउत र सहयोगी राई विरुद्ध जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।
अध्यक्ष राउत एमालेबाट दुइपटक निर्वाचित भएका छन् । जनप्रतिनिधि जस्तो गरिमामय छविलाई मर्यादित बनाउनु पर्ने र गुण्डागर्दी शैली र दागिरी प्रवृत्ती हटाउनु पर्ने स्थानीयहरु बताउछन् ।
