Monday, May 4News That Matters

लञ्च भएको २ दिनमै थ्रेड्सको ८१ मिलियन प्रयोगकर्ता, ट्वीटरलाई चुनौती दिँदै

पूर्णपुष्टि, असार २३ । फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरवर्गको नयाँ एप थ्रेड्सले दुई दिनमै ८१ मिलियन प्रयोगकर्ता पाएको छ । बिहिबारबाट लञ्च भएको माइक्रोब्लगिङ सामाजिक सञ्जाल थ्रेड्स एकसाथ आईओएस र एन्ड्रोईडमा आएको थियो ।

थ्रेड्सको प्रयोगकर्ता संख्या गणना गरिरहेको क्वीभर क्वान्टिटेटिभका अनुसार आज शनिबार १२ बजेसम्म ८१ मिलियन प्रयोगकर्ता पुगेको छ । उक्त एप इन्टरनेटमा सबैभन्दा छोटो समयमा धेरै प्रयोगकर्ता पाउने एप बनेको छ । सार्वजनिक भएको २ दिन नबित्दै थ्रेड्सले ३० मिलियन भन्दा बढी प्रयोगकर्ता पाएको थियो । जुन, यसअघि च्याटजिपीले पाएको भन्दा बढी हो । च्याटजिटीपीले सार्वजनिक भएको ५ दिनमा १ मिलियन प्रयोगकर्ता पाएको थियो ।

विश्वको धनी व्यक्ति एलन मस्कको ट्वीटरलाई चूनौती दिन भन्दै जुकरवर्गले थ्रेड्स सार्वजनिक गरेको हो । मस्कले ट्वीटर किनेपछि व्यापक परिवर्तन गरिरहेका छन् । उनले ट्वीटरमा ब्लुटिक पाउन समेत रकम तिर्नुपर्ने लगायतका व्यवस्था गरेका छन् भने विशेषतामा समेत धमाधम परिवर्तन गरिरहेका छन् । मेटा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतको प्यारेन्ट कम्पनीको सूचीमा अब थ्रेड्स समेत थपिएको छ ।