
पूर्णपुष्टि, असार २३ । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– ३ मिलन चोक बस्ने ४२ बर्षीय किशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
चौधरीले आफ्नो घरमा ब्राउन सुगर बिक्री बितरण गर्ने भन्ने बिशेष सुचनाको आधारमा बिहिबार अन्दाजी साढेँ ९ बजे राती जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घर खान तलासी गर्दा लुकाई छिपाई राखेको २ ग्राम ब्राउन सुगर सहित चौधरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मोरङमा ब्राउन सुगर सहित २ युवक पक्राउ
यसैगरी मोरङमा ब्राउन सुगर सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली–६ का २४ बर्षीय शेफ खान र २८ बर्षीय दिपेश अग्रवाल रहेको प्रहरीले जनाएको छ । शुक्रबार साझँ रंगेली नगरपालिका–७ स्थितमा लागुऔषध विक्री बितरण भईरहेको भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश लागुऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
