Sunday, June 14News That Matters

जनताको निराशालाई आशामा बदल्ने राष्ट्रपति पौडेलको प्रतिबद्धता

पूर्णपुष्टि, फागुन २६ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको निराशालाई आशामा बदल्न प्रतिबद्ध रहेको बताएका छन् । उनले शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरेका हुन् ।

देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको पनि उनको भनाइ छ । उनले समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्न प्रतिबद्ध रहेको जनाए ।

जनताको अधिकारमाथि खेलबाड गर्न नहुने समेत बताएका छन् । देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्नु आफ्नो कर्तव्य रहेको बताए ।

राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले संग्रहालयमा वृक्षरोपण गरेर संग्रहालयको अवलोकन पनि गरेका थिए ।