Sunday, March 16News That Matters

जसपा नेपाल बाहिरिएपछि जसपा सरकारमा

पूर्णपुष्टि, जेष्ठ १ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको छ । जसपा नेपाल सोमबार सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अशोक राईको नेतृत्वमा नवगठित जसपालाई सरकारमा समेटेका हुन् ।

नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री दाहालले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारसँगै केही हेरफेर गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री र दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीबाट राजीनामा दिएका थिए । उपेन्द्र र कार्कीको राजिनामा पछि जसपा नेपालबाट विभाजित भई बनेको जसपाका उपमहासचिव प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालय र हसिना खानलाई पनि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि जसपा नेपालबाट वन तथा वातावरणमन्त्री बनेका नवलकिशोर शाह सुडीले भने दाहाल सरकारमा निरन्तरता पाएका छन् । सुडी पार्टी विभाजनपछि राई नेतृत्वको जसपामा छ । सोमबारको मन्त्रिपरिषद् हेरफेरसँगै जसपाले थप एक–एक मन्त्री र राज्यमन्त्री पाएको हो । यादव बाहिरिएपछि दाहाल सरकार झनै सुविधाजनक बहुमतको स्थितिमा आएको छ ।प्रतिनिधिसभामा यतिबेला सरकारलाई एमाले ७८, माओवादी ३२, रास्वपा २१, एकीकृत समाजवादी १०, जसपा ७ र नागरिक उन्मुक्ति ५ गरी १ सय ५३ सांसदको समर्थन छ । जुन प्रतिनिधिसभामा सरकारलाई आवश्यक न्यूनतम बहुमतभन्दा १५ सिट बढी हो ।

यसैबीच, यादवले जसपा नेपाल अवैधानिक रूपमा विभाजन गरिएको भन्दै सोमबार नै निर्वाचन आयोगलाई विपक्षी बनाउँदै नयाँ दल जसपा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिटमाथि बुधबार पेसी तोकिएको छ ।