
सुनिल राई, गाईघाट ।
पूर्णपुष्टि, फागुन १ । जिल्ला समन्वय समिति उदयपुरको सातौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति उदयपुरको प्रमुख गौर बहादुर विश्वकर्माको अध्यक्षतामा बिहिबार जिल्ला समन्वयको सभाहलमा आयोजित सभा सम्पन्न भएको हो ।
सभाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम, विनियोजन ऐन सर्वसम्मत रूपमा पारित गरेको छ । जिल्ला समन्वय समितिको गत आर्थिक वर्षको विनियोजित रकम १ करोड ४३ लाख २८ हजार मध्ये हालसम्म १ करोड २६ लाख ४६ हजार ९ सय ७० रुपैयाँ खर्च भएको छ । यो रकम कुल बजेटको ८८.२७ प्रतिशत हो । यसका साथै, साविक जिल्ला समन्वय समितिको कोषबाट मौज्दात भई आएको बिबिध खर्च खातामा गत आ.व.को सुरुमा २ करोड ९९ लाख ४२ हजार ४ सय ७३ रुपैँया ७५ पैँसा रहेकोमा ४५ लाख ६० हजार ४ सय ५७ रुपैँया ८२ पैँसा खर्च भएको छ । भने २ करोड ३० लाख ७२ हजार १५ रुपैँया ९३ पैँसा मौज्दात रहेको छ ।
सभाको अवसरमा संस्थागत क्षमता स्वमूल्याङ्कन (lisa) र वित्तीय सुशासन जोखिम मूल्याङ्कन (fra) मा उत्कृष्ट अङ्क प्राप्त गरेको कटारी नगरपालिकालाई सम्मान गरिएको छ । कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठलाई समन्वय प्रमुख विश्वकर्माले सम्मानपत्र हस्तान्तरण गरे ।
स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरूपता कायम गर्न तथा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन आधारमा उदयपुर जिल्लाका आठ स्थानीय तह मध्ये कटारी नगरपालिकाले सर्वाधिक अङ्क प्राप्त गरेको हो ।
नेपालको संविधानको धारा २२० अनुसार जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्ने अधिकार भएको जिल्ला सभामा सबै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षहरू सदस्य रहने व्यवस्था छ । सभामा जिल्लाका सबै आठ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको थियो ।