
पूर्णपुष्टि, फागुन ४ । झापाको भद्रपुर नगरपालिका वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा एक प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी विजय चौहानका अनुसार खतिवडाको शव प्रहरी कार्यालयको तीन तले ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्यांकी जाने फलामको भर्याङमा झुन्डिएको अवस्थामा फेला परेको हो ।
‘शव आज बिहान फेला परेको हो । घटनाबारे परिवारलाई जानकारी गराइसकिएको छ,’ चौहानले भने, ‘घटनाको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ।’ प्रहरीले मृतकका आफन्तलाई घटनाबारे जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको डिएसपी चन्दले बताए । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।