Sunday, May 24News That Matters

ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने विरुद्ध अनुसन्धान सुरु

पूर्णपुष्टि, भदौ १९

हिजो ललितपुरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने नौ जनाविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।

यो ऐनसँगै कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरुद्धको कसुर पनि आकर्षित हुने भएकाले यी मुद्दा अन्तर्गत पनि अनुसन्धान अघि बढाउने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ललितपुर–१६ गावाहलका महेश बज्राचार्य, ११ का पृथविन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवी शाक्य र १६ का रवीन शाक्य, महालक्ष्मी नगरपालिका–१ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी–८ का श्याम श्रेष्ठ र काठमाण्डौ–१६ का यादवलाल कायस्थ पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले पत्रकारको ज्याकेट लगाएर ढुङ्गा प्रहार गर्ने बारे पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हिजो झडपमा घाइते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको अल्का अस्पताल ललितपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।