Tuesday, November 18News That Matters

ताप्ली गाउँपालिकाद्धारा एसईईमा उत्कृष्ट विधार्थी, विद्यालय र शिक्षकलाई सम्मान

पूर्णपुष्टि, असार २६ । उदयपुरको ताप्ली गाउँपालिकाले यस बर्ष माध्यामिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट अंक सहित उतिर्ण हुने विद्यार्थी, विद्यालय र शिक्षकलाई नगद सहित सम्मान गरेको छ ।

मंगलबार गाउँपालिकाको कार्यालय रुपाटारमा आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट जिपिए सहित एसईई उत्तिर्ण हुने विद्यार्थी, धेरै विद्यार्थी संख्या उत्तीर्ण गर्ने विद्यालय र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विषयगत शिक्षकलाई नगद सहित पालिकाले सम्मान गरेको हो ।

गाउँपालिकामा सबै भन्दा धेरै जिपिए ल्याउने मावि झिल्केपोखरीका छात्र कुशल मगर र मुना मगरलाई नगद रु. १५–१५ हजार सहित सम्मान गरिएको हो । कुशल ३.७४ जिपिए र मुना ३.७३ जिपिए सहित उत्तिर्ण भएका हुन् ।

गाउँपालिका भरी सबै भन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय पनि झिल्केपोखरी मावि नै भएको छ । झिल्केपोखरी माविले ३५ जना विद्यार्थीमध्ये ३३ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो । झिल्के माविका प्रधानाध्यापक गोविन्द खड्काले आफ्नो विद्यालयले कुल विद्यार्थीमध्ये ९४.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको बताएका छन् ।

ताप्लीका ६ वटा मावि मध्ये दोस्रो हुन सफल मावि कटहरेका २१ जना विद्यार्थीमध्ये १८ जना विद्यार्थी, मावि ठानागाउँका ५२ मध्ये २२ विद्याथी, महेन्द्र मावि रुपाटारका ३३ जनामध्ये १५ जना विद्यार्थी, मावि चिसापानीका १२ जना विद्यार्थी र मावि ओख्ले भन्ज्याङका ११ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएको शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिकाले शतप्रतिशत विद्यार्थी पास गराउने उत्कृष्ट शिक्षकलाई नगद रु. ४–४ हजारले सम्मान गरेको छ । जसमा झिल्केपोखरीका प्रअ गोविन्द खड्का अङग्रेजी, भिमप्रसाद ढुङ्गाना सामाजिक र सोमराज खनाल विज्ञानका शिक्षकहरु नगद सहित पुरस्कृत भएका छन् भने रुपाटार माविका नेपाली विषयका शिक्षक मोहन बुढाथोकी, मावि ओख्लेका गणित शिक्षक लोबबहादुर राई र मावि कटहरे तथा चिसापानका शिक्षक पनि नगद सहित पुरस्कृत भएका छन् । गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्मा र उपाध्यक्ष धनमाया मगरले उत्कृष्ट विद्यार्थी, विद्यालय र शिक्षकलाई नगद पुरस्कार सहित सम्मान पत्र हस्ताण्तरण गरेका थिए ।