तुलसीलाई पुजेर आज ठुलो एकादशी पर्व मनाईँदै

पूर्णपुष्टि, कार्तिक २९
घरमा रोपेको तुलसीलाई पुजाआज गरी आज ठुलो एकादशी मनाईदैछ । ठुलो एकाददशीमा बिषेशगरी तुलसीलाई पुजेर बिभिन्न फलफुलहरु खाने चलन छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

आजको दिन सखरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ । ठुलो एकाददशीमा चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।

रिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन आज काठमाडौंका बुढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक विदा दिएका छन् ।

यसैगरी हरिबोधनी एकादशीको अवसरमा संखुवासभाको खाँदबारी नगरपालिका, खोटाङको बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले पनि कात्तिक २८ र २९ गते दुई दिन सार्वजनिक विदा दिएका छन् । आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: