Thursday, June 25News That Matters

प्रदेश नं १ मा पहिलो सरकारले गरेको ७५ जनाको राजनितिक नियुक्ती पद ख्यारेज हुँदै

पूर्णपुष्टि, कार्तिक २९
प्रदेश नं १ मा राजनितिक नियुक्ती पद पाएका ७५ जनाको पद ख्यारेज हुँदैछ । पहिलो सरकार भिम आचार्य नेतृत्वको सरकारले विश्वासको मत लिनु अघिनै हतारमा गरेको राजनितिक नियुक्तीको पद राजेन्द्र राई नेतृत्वको वर्तमान सरकारले धमाधम ख्यारेज गर्न लागेको हो । भीम आचार्य नेतृत्वको पूर्ववर्ती सरकारलाई ‘अवैधानिक’ संज्ञा दिँदै सत्तारुढ गठबन्धनले सो सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

संसदबाट विश्वासको मत नलिइकनै ६८ दिन प्रदेश सरकार चलाएका आचार्य र उनको नेतृत्वको सरकारले त्यसबीचमा विभिन्न पदमा कार्यकर्ता भर्ती गरेको भन्दै गठबन्धनले ती सबै नियुक्तिलाई खारेज गर्नुपर्ने ठहर गरेको स्रोत बताउँछ ।
प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम सल्लाहकार समितिसम्म नियुक्ति पाएका ७५ जनाले पद गुमाउने भएका हुन् ।

कात्तिक ४ मा आचार्य नेतृत्वको सरकारले एकै दिन २२ जनालाई विभिन्न बोर्ड र समितिमा नियुक्त गरेको थियो । त्यसदिन सरकारले प्रदेश पर्यटन बोर्डमा ६ जना, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाहकार समितिमा ११ जनालाई नियुक्ति दिएको थियो । यसरी नियुक्ति पाउनेमा एकाधबाहेक सबै एमाले कार्यकर्ता हुन् । आचार्य नेतृत्वको सरकारले प्रदेशमा सबैभन्दा धेरै नियुक्ति खेलकुद क्षेत्रमा गरेको थियो ।

राजेन्द्रकुमार राईको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नै पूर्ववर्ती सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेजी प्रक्रिया थाल्ने निर्णय गरेको थियो । ‘संविधानले चिन्दै नचिनेको सरकारले गरेका नियुक्तिहरु स्वतः अवैधानिक हुन्छन्,’ मुख्यमन्त्री राईले भने, ‘त्यसैले अब खारेजी प्रक्रिया सुरु हुनेछ ।’ आचार्य नेतृत्वको सरकारले गरेको राजनितिक नियुक्तीमा एकाधबाहेक अधिकांश एमालेका कार्यकर्ताहरु हुन् ।