
गोठकृष्ण ठकुरी, उदयपुर
एक जमाना थियो
जहाँ म पढ्दै थिएँ
जहिले म बढ्दै थिएँ
त्यहीँ सिकेको हुँ
लाइन बस्न
प्राथना गर्न
आदर गर्न
जुन अहिले
सजिलो भएको छ
हरेक ठाउँमा लाइन बस्न
सजिलो भएको छ
समस्यामा भगवान पुकार्न
सजिलो भएको छ
आदर गरेर उम्कन
सरले जहिले भन्नु हुन्थ्यो–
“कम खाओ, बुद्वि बढ्छ”
आज आएर थाहा भो
भोको पेटले साँच्चै बुद्धि बढाउने रहेछ
आज कति साथीहरू बुद्धि बढेर
पराइभूमि पुगेका छन्
कतिले बन्दुक बोकेका छन्
त कतिले कलम भिरेका छन्
सरले भन्नुहुन्थ्यो–
“आजको अप्ठ्यारोले भोली सजिलो बनाउँछ”
हो रहेछ
हिजो अप्ठ्यारो गरी सिकेको हिसाबले
आज सजिलो भएको छ
परदेशी आउने दिन गन्न
सजिला्े भएको छ
तलब आउने दिन गन्न
सजिलो भएको छ
उधारो खाएको जोड्न
त्यति बेला म बुझ्दिन थिएँ
‘धन भन्दा विद्या ठूलो’ पाठ पढाउने सरले
पैसा थोरै भो भनेर स्कुल छाडेको कुरा
‘बल भन्दा बुद्धि ठूलो’ पाठ पढाउने सरले
भाँटा भाँचेको कुरा
हो म साँच्चै बुझ्दिन थिँए
रुमाल लुकाइ खेल्दा
छाडि रुमाल राखेर
ढाडमा किन हिर्कायो साथीले
आज पनि म केही बुझ्दिन
जबदेखि बुझ्ने भएँ
तबदेखि म केही पनि बुझ्दिन
बुझेर त राम जन्मिन्छ
म त नबुझि जन्मिएको मान्छे
त्यसैले मैले नबुझ्दा राम्रो होला



