
पूर्णपुष्टि, चैत्र २१ । त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रेम प्रसाद लुईटेललाई स्वागत गरेको छ । बुधबार त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको कार्यालयमा स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी लुईटेललाई जिल्लामा स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष रमेश रसाईलीले उदयपुर जिल्लामा अप्रिय घटना र अपराधिक घटनाहरू कम हुने भएकोले सिडिओ लुईटेलको कार्यकाल सहज रूपमा बित्ने आशा व्यक्त गरे । उनले मदन भण्डारी राजमार्ग जोडिएको त्रियुगा नगरपालिकामा पछिल्लो समयमा चोरी र दुर्घटनाका घटनाहरू बढेको बताउँदै प्रत्येक दिन दुर्घटनाहरू भइरहेको बताए । रसाईलीले विगतमा जिल्ला प्रशासन, नगरपालिका र वाणिज्य संघको संयुक्त प्रयासमा बजारमा जडान गरिएका सिसिटिभी क्यामेराहरू हाल अनुपस्थित रहेको उल्लेख गर्दै बढ्दो अपराध र दुर्घटना नियन्त्रणका लागि नयाँ क्यामेराहरू जडान गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी लुईटेलले १२ वर्ष अघि सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा उदयपुरमा काम गरेको र त्यस बेला त्रियुगा उद्योग वाणिज्य संघसँग गरेको सहकार्यलाई स्मरण गरे । उनले जिल्ला प्रशासन कार्यालयलाई ‘जनताको अड्डा’ भन्दै कुनै विशेष परिस्थितिमा केही समय प्रतीक्षा गर्नुपर्ने भएतापनि जनताले आफ्ना कुरा राख्न र सुनुवाई हुन सधैं अवसर पाउने प्रतिबद्धता व्यक्त गरे । सिडिओ लुईटेलले आफ्नो कार्यालयको कार्यशैली जनमुखी र व्यवसायमुखी हुने बताउँदै शान्ति सुरक्षा, सुशासन कायम गर्नका लागि विकास निर्माण, पूर्वाधार निर्माण र बजार व्यवस्थापन लगायतका क्षेत्रमा त्रियुगा उद्योग वाणिज्य संघसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदार मान दोङ, त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नविन बस्नेत लगायत विभिन्न व्यवसायीहरूको उपस्थिति रहेको थियो ।