Monday, May 4News That Matters

त्रियुगा नगरको निति तथा कार्यक्रम : कार्यन्वयन पक्षमा प्रश्न र चिन्ता

पूार्णपुष्टि, ११ असार ।
त्रियुगा नगरपालिकाको ११ औँ नगरसभा आईतबार सम्पन्न भयो । १ अर्ब ४७ करोड ३४ लाख ९ हजार बजेट आगामी बर्षको लागि बिनियोजन गर्दै त्रियुगाले नगरसभा सम्पन्न गर्यो । नगर प्रमुख वसन्त कुमार वस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल, १६ ओटै वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागीमा नगरसभा सम्पन्न भयो ।

आगामी बर्षको लागि नगरवासी उन्मुख कार्यक्रम तथा योजनाहरु ल्याएको नगरसभाले जनाएको छ । उक्त निति तथा कार्यक्रम नगर प्रमुख तथा नगर सभाका सभाध्यक्ष समेत रहेका वसन्त कुमार वस्नेतले प्रस्तुत गरे भने आगामी बजेट नगर उप्रमुख महेश्वरी राईले प्रस्तुत गरेकी थिईन् । यसै क्रममा तिन मिनेट बोल्ने समय सदुपयोग गर्दै वडा सदस्यहरुले निति तथा कार्यक्रमको कार्यन्वयनको बारेमा चिन्ता व्यक्त गरे ।

वडा नं ६ का वडा सदस्य प्रबेश खड्काले निति तथा कार्यक्रम एकातिर कार्यन्वयन अर्को तिर हुने गरेको जनाए । उनले भर्खरै नगरपालिकाले लगेको कृषि भ्रमण माथी प्रश्न उठाउँदै  कृषि क्षेत्र र कृषकहरुको खिल्ली उडाएको जनाए । ३६ जनाको जम्बो टोलीको कृषी भ्रमणमा ४ जना कृषक र बाँकी सबै जनप्रतिनिधि कर्मचारीहरुले भ्रमण गर्नु कृषकहरुको कार्यनितिमा जनप्रतिनिधिहरुले राजाई गरेको खड्काले आरोप लगाए । उनले कृषिका लागि कृषिमय स्थानहरुमा भ्रमण गर्नु पर्ने ठाउँमा मुक्तिनाथ र मुस्ताङ भ्रमण गर्नुले भ्रमण सान्दर्भिक नभएको समेत जनाए । मुस्ताङको स्याउ त्रियुगा नगरपालिकामा काहाँ फलाउनु हुन्छ ? त्यहाँको याक त्रियुगाको कुन ठाउँमा पाल्नु हुन्छ ? अनि त्यहाँका यार्सा गुम्वा यहाँ काहा रोप्नु हुँन्छ, ? खड्काले प्रश्न गरे । उनले कृषकहरुले मल नपाउने समस्यामा कृषि भ्रमणको लागि भने ७ लाख छुटाईनु निति तथा कार्यक्रम माथीको ब्यवहारिकतामा प्रश्न रहेको जनाए ।

यस्तै वडा नं २ का वडा सदस्य अर्जुन पोखरेलले निति तथा कार्यक्रम बनाउँदै गर्दा पहिलो कार्यक्रमहरु कति कार्यन्वयन भए त्यो पनि प्रस्टाउन माग गरे । निति तथा कार्यक्रम निर्माण मात्रै गर्ने की त्यसको कार्यन्वयन पक्षलाई पनि हेर्ने उनले भने, । बनाएको निति कार्ययोजनाहरु कार्यन्वयनमा आएमात्रै त्रियुगा नगरको विकास र त्रियुगावासी उत्साहित हुने उनले बताए । उनले पहिलो कार्यक्रमहरु कार्यन्वयन भएनभएको प्रस्ट भए त्यस विषयमा समेत छलफल गर्दै कार्यन्वयन पक्षलाई सहज गर्न सकिने जनाए ।

यस्तै वडा नं ८ का सदस्य इन्द्र कार्कीले वडा सदस्यहरु जिम्मेवार बिहिन भएको जनाए । सबै कार्यक्रम वडाअध्यक्षको हातमा मात्रै हुने हुँदा आफुहरुले जनतालाई सेवा गर्ने अवसरबाट बन्चित भएको जनाए । आफुहरु पनि त्यहि जनताहरुले भोट दिएर जितेको भन्दै जनताहरुले विकासबारेमा आफुलाई पटकपटक सोध्दा आफुहरु सँग कुनै अधिकार नरहेको जनाए । यसलाई पनि निति तथा कार्यक्रममा समेटेर कार्यन्वयन पक्षलाई जोड्नु पर्ने उनले जनाए । अन्तत निति तथा कार्यक्रमहरु राम्रो राम्रँे भएपनि कार्यन्वयन पक्षलाई ख्याल नगरे औचित्य नरहने जनाए ।

यसैगरी ११ नं वडा सदस्य विमला राईले कतिपय कामहरु नभएको जनाए । उनले असम्भव कामहरु कि निति तथा कार्यक्रममा नराखौँ, राखिसकेपछि कार्यन्वयन गरौँ भन्दै सुझाव दिईन् । राईले वडाअध्यक्षमाथी पनि प्रश्न उठाउँदै अहिले सम्म जनप्रतिनिधिको महशुस नभएको बताईन् । राईले वडा जिम्मेवारी हिसावले नचलेको समेत बताईन् । उनले ११ नं वडामा हाल सम्म कुनै पनि छलफल नभएको र वडा संञ्चालनका लागि वडाअध्यक्षले मनपरी चलाएको समेत जनाईन् । तसर्त आवश्यक अनुसार वडामा छलफलहरु राखी वडा संञ्चालन र जनताको कामवारे सबैको चासो हुनु पर्ने राईले जनाईन् ।