Wednesday, January 14News That Matters

त्रियुगा नगरपालिका, उदयपुरको १६ औं नगरसभा सम्पन्न

उदयपुर, पुस ७
उदयपुरको त्रियुगा नगरपालिकाको १६ औं नगरसभा आज सम्पन्न भयो । सभाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको समिक्षा तथा संसोधन गरेको छ । मेयर बसन्त बस्नेतले कार्यकालको साढे तीनवर्षमा कार्य सम्पादन र सुशासनको क्षेत्रमा दुरगामी कामहरु गरेको र नयाँ कामहरुको थालनी गरिएको बताउनुभयो ।
चालु आ.ब. मा १ अर्ब, ९७ करोड, १९ लाख ६५ हजार विनियोजन भएकोमा हालसम्म ४३ कोड ९२ लाख १ हजार आम्दानी भएको र जसमा आन्तरिक स्रोततर्फ ३ करोड ४० लाख ६५ हजार रहेको जनाउनुभयो । खर्चतर्फ ३५ करोड १० लाख ६४ हजार भएको जनाउनुभयो ।
नयाँ पालिका भवनबाट कार्यसम्पादन थालिएको, विश्व बैंकको सहयोगमा सञ्चालित शहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको निर्माणाधिक सडक अन्तिम चरणमा पुगेको, नगरदेखि वडासम्मको कार्य सम्पादन सन्तोषजनक रहेको बताउनुभयो ।
उपमेयर महेश्वरी राईले नगरपालिकाले मेलमिलापलाई प्राथमिकता दिएको बताउदै आ.व. २०८१/०८२ मा ७५ वटा उजुरी परेकोमा ५४ उजुरी समाधान भएको बताउनुभयो । जसमा सबैभन्दा बढि ऐलानी जग्गा विवाद, दोस्रोमा लेनदेन रहेको छ । कतिपय विवाद वडास्तरमै मिलाउने गरिएको भन्दै त्यस्ता वडाको प्रशंसासमेत गर्नुभयो । सभामा विभिन्न विषयगत प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले चालु आ.ब. मा भएका कार्यक्रमको समिक्षा, शिक्षा ऐनको तेस्रो संसोधन, वडास्तरबाट सिफारिस भएका केही बजेट कार्यक्रमको संसोधन भएको बताउनुभयो । नगरसभा सौहाद्रपूर्णरुपले सम्पन्न भएको पनि उहाँले बताउनुभयो ।
नगरसभाअघि वडासदस्यहरुले संयुक्त हस्ताक्षरसहित नगरपालिकाको नयाँ भवनको शिलामा आफुहरुको पनि नाम लेखिनु पर्ने भन्दै माग राखेका थिए । उक्त मागलाई सम्बोधन गरिने भएको उपमेयर राईले बताउनुभयो ।