पूर्णपुष्टि, वैशाख २४ गते ।
दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गरेको आरोपमा झापाबाट एक जना बेहुलाई प्रहरी पक्राउ गरेको छ । झापा गाउँपालिका–४ बस्ने २८ वर्षीय बेहुला डेबिट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीको मेचीनगर नगरपालिका–१५ बस्ने पुष्पलाल राजबंशीकी छोरीसँग विवाह हुँदै थियो । तर चौधरीले विवाहमा मोटरसाइकल दाइजोमा नदिएको भन्दै विवाद गरेको आरोप छ । विवाद गरेको भन्दै पुष्पालालले उनीविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
त्यसरी जाहेरी परेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । प्रहरीले चौधरीमाथि विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको ।
चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । त्यही कार्यालयबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

