
पूर्णपुष्टि, साउन १३ । दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। शनिबार साझँ दुहु गाउँपालिका–४ थारा निवासी १७ वर्षीया धनिसा कुँवर महाकाली नगरपालिका–४ स्थित रिङ्नेताल भन्ने ठाउँबाट नदिमा हाम्फेलको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहले जानकारी दिए ।
प्रवक्त्ता सिंहका अनुसार स्थानीयले किशोरी नदीको डिलमा पुगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो। घटनास्थलमा पुगेका प्रहरी र स्थानीयले किशोरीलाई सम्झाइबुझाइ गरेका थिए। तर, उनले नमानेपछि एक प्रहरी उनलाई समात्न नजिक गएका थिए। त्यही बेला कुँवरले अचानक नदीमा हाम फालेकी थिइन्।
प्रहरीले तत्काल खोजी कार्य सुरु गरे पनि अहिलेसम्म उनी फेला परेकी छैनन्। किशोरीको परिवारसँग बुझ्दा पनि उनले आत्महत्या प्रयास गर्नुको कारण खुल्न सकेको छैन। प्रहरीले किशोरीको खोजी कार्य जारी राखेको र थप अनुसन्धान गरिरहेको जनाएको छ।
