Monday, September 14News That Matters

त्रिशूली बस दुर्घटना : १६ दिनपछि पनि अनिश्चित खोजी

पूर्णपुष्टि, साउन १३ । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई बस त्रिशूली नदीमा खसेको १६ दिन बितिसक्दा पनि बस र बेपत्ता यात्रुहरूको खोजी कार्य अनिश्चित बनेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बस भेटिने सम्भावना निकै कम रहेको र खोजी कार्यमा समस्या आएको रिपोर्ट माथिल्लो निकायमा पठाइएको छ।

‘भोलिबाट थप खोज्ने वा रोक्ने भन्ने निर्णय आउँछ भन्ने विश्वास छ,’ प्रजिअ यादवले भने। घटनामा ६५ यात्रुमध्ये २० जनाको शव भेटिएको छ भने बाँकी अझै बेपत्ता छन्। खोजी कार्यमा संलग्न एक सुरक्षा अधिकृतले भने, ‘हामीलाई यी बस भेटिदैन भन्ने थाहा छ। परिवारले पनि आश मारे। तर हामी निरन्तर यसमा लागिरहेका छौं।’

भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोली आइतबार फर्किने तयारीमा छ। प्रजिअ यादवका अनुसार भारतीय टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरे पनि बस नभेटिएको प्रतिवेदन दिएर फिर्ता हुनेछ। शनिबार दिउँसो बसको खोजीका लागि प्रयोग गरिएको १९ किलोको चुम्बक नै पानीमा हराएको प्रहरी स्रोतले जनाएको छ।