Wednesday, April 22News That Matters

गोरखामा पहिरोले एकै परिवारका तीनसहित पाँच जना बेपत्ता

पूर्णपुष्टि, साउन १३ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतबार बिहान गएको पहिरोले एकै परिवारका तीन जनासहित पाँच जनालाई बगाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोमा परेका हुन्।

पहिरोमा परेर बेपत्ता हुनेमा जीतबहादुर गुरुङ, उनकी ३५ वर्षीया श्रीमती कान्छी माया, ६० वर्षीय बुबा सुलाल कान्छा, सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार रहेका छन्। एकै घरपरिवारका तीन जना र बाँकी दुई जना फर्ममा काम गर्ने कामदार रहेको श्रेष्ठले बताए ।

पहिरोमा पुरिएर घाईते भएका २ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको छ। दिलीपको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए। प्रहरी र स्थानीय मिलेर बेपत्ताहरूको खोजी कार्य जारी राखेका छन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार उद्धारका लागि थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको छ।