Tuesday, April 21News That Matters

दुर्घटना न्यूनीकरणका लागि उदयपुरमा थर्मप्लास्टिक लाइन जडान

पूर्णपुष्टि, बैशाख १२ । सवारी दुर्घटना न्यूनीकरणका लागि उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अधेरीस्थित मदन भण्डारी राजमार्गमा थर्मप्लास्टिक लाइन जडान गरिएको छ ।

राजमार्गको सबैभन्दा दुर्घटनाप्रवण क्षेत्रमा पर्ने अधेरी खण्डमा उदयपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा प्रहरीले थर्मप्लास्टिक लाइन जडान गरेको हो । यो खण्डमा सडक ओरालो र घुम्ती मोड भएका कारण सवारी चालकहरू भ्रममा परेर दुर्घटना बढी हुने गरेको छ ।

ट्राफिक प्रहरी असई तिलक पौडेलका अनुसार पछिल्लो १० महिनाको अवधिमा मदन भण्डारी राजमार्गमा २५० वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ४३४ जना घाइते भएका छन् भने २०८१ साउनदेखि अहिलेसम्म ५७ जनाको मृत्यु भएको छ ।

“यो राजमार्गमा दिनहुँजसो सवारी दुर्घटना हुने गरेको छ । मुख्यतः सडक निर्माणका क्रममा धेरै ठाउँमा घुमाउरो बाटो बनाइएको र ओरालो-उकालो भएको कारण दुर्घटना बढी हुन्छ,” असई पौडेलले भने ।

थर्मप्लास्टिक लाइनले सवारी दुर्घटना कम गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रहरीको भनाइ छ । थर्मप्लास्टिक रेखाले सवारीको गति कम गर्न सहयोग गर्छ र रातको समयमा यो रेखा बढी चम्कने हुँदा चालकहरूले टाढाबाटै देख्न सक्छन् । यसैगरी घुम्ती मोड र खतरनाक क्षेत्रबारे चालकहरूलाई पहिल्यै सचेत गराउने काममा यो लाइनले महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

मदन भण्डारी राजमार्ग निर्माणका क्रममा भौगोलिक कारणले धेरै ठाउँमा घुमाउरो बाटो बनाउनुपरेको छ । यसैले राजमार्ग सञ्चालनमा आएदेखि नै दुर्घटनाको संख्या उच्च रहेको छ । “खासगरी ओरालो भएको घुम्ती मोडमा चालकहरू भ्रममा पर्छन् र दुर्घटना हुन्छ । अब थर्मप्लास्टिक रेखाले टाढैबाट चालकलाई सचेत गराउनेछ,” असई पौडेलले भने ।