Tuesday, April 21News That Matters

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

पूर्णपुष्टि, साउन २५ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ।

आज बिहानदेखि नै देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम विभागले सर्वसाधारणलाई सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ।