Tuesday, June 9News That Matters

नेपालमा पनि दोस्रो चरणको कोरोना त्रास फैलिँदै, सरकार लकडाउन र नाका दुवै बन्द नगर्ने पक्षमा

पूर्णपुष्टि, चैत्र ११

पछिल्लो समय नेपालमा पनि दोस्रो चरणको कोरोनाको त्रास उत्पन्न सुरु भएको छ । गत चैत्र ११ बाटै नेपालमा पनि लकडाउन गरिएको थियो । आज लकडाउनको ठिक एक बर्ष पुरा भएको छ । विश्वभर अझै पनि नियन्त्रण हुन नसकेको कोरोनाले नेपालमा फेनि फेरी त्रास बढाउन सुरु गरेको छ ।

फेरी दोस्रो चरणको कोरोना विश्वभर फैलिरहेको र छिमेकी देश भारतमा पनि यसको त्रास बढ्नुका साथै संक्रमणले तिब्र गति लिएको छ ।

नेपालमा लगतार करिब ४ महिनाको लकडाउनले बिभिन्न क्षेत्रलाई पूर्ण रुपमा असर पुराएको भन्दैे यो पल्ट लकडाउन र नाका कुनै पनि बन्द नगर्ने पक्षमा सरकार अडिक रहेको बुझिएको छ ।

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै जाने तर, लकडाउन नै भने नगर्ने मुडमा सरकार देखिएको हो । ओली सरकारका एक प्रभावशाली मन्त्रीका अनुसार सरकार विगतमा जस्तो हतारमा लकडाउन गरेर कोरोना नियन्त्रणमा लाग्ने भन्दा पनि यसपटक विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने योजनामा छ ।

ती मन्त्रीका अनुसार सरकार तत्काल लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमामा सतर्कता अपनाउने र हवाइ उडानमा थप योजनावद्ध नीति लागू गर्नुका साथै क्वारेन्टिनको उचित व्यवस्थापन र समग्र स्वास्थ्य प्रणालीको सही परिचालनमा सरकारको जोड रहनेछ ।

यस्तै, बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को बैठक समेत बोलाइएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना रोकथाम र न्यूनीकरणका लागि सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ । यसबाहेक कोरोना कहरका बीच सीसीएमसीले गरेको कामकारबाही समेटिएको पुस्तक विमोचन गर्ने कार्यक्रम पनि रहेको एक मन्त्रीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो साता संक्रमण दर बढ्दै गएको देखिएको छ । मन्त्रालयको विवरणअनुसार मंगलबार ४ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो ।  यसअघि आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।

हाल नेपालमा आइसोलेशनमा १ हजार १२८ जनामात्रै भए पनि बढ्दो संक्रमण दर र पर्याप्त सावधानी नअपनाइनुले पुनः संक्रमणको अवस्था भयावह बन्ने हो कि भन्ने चिन्ता बढेको छ । सँगसँगै देश पुनः लकडाउनमा जाने हो कि भन्ने चिन्ता समेत थपिएको छ ।

सरकारले कोरोना संक्रमण बढ्दै गएपछि गत वर्ष चैत ११ अर्थात आजकै दिन लकडाउनको घोषणा गरेको थियो । करिब चार महिना लामो लकडाउन हुँदा अर्थतन्त्र क्षेत्र ध्वस्त हुनुका साथै जनजीवन कष्टकर बनेको थियो । लकडाउनपछि जनजीवन सामान्य अवस्थातिर फर्किँदै गर्दा फेरि संक्रमणको दोस्रो लहरको त्रास सुरु हुनुका साथै आगामी दिन कसरी अघि बढ्ला भन्नेतर्फ आम चासो बढेको छ ।