
पूर्णपुष्टि, कार्तिक ५ । त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्वर्गिय युवराज (कौलाश) राई फुटबल प्रतियोगिता २०८१ को तेस्रो खेलमा बेल्टार एकता युवा क्लब बिजयी भएको छ ।

बगाहाको खेल मैदानमा सोमबार दिउँसो भएको खेलमा बेल्टार एकता युवा क्लबले दुुधौली स्पोर्टस (सिन्धुली) लाई २–१ गोलले हराएको हो । खेलको ६ औं मिनेटमा जर्सि नं. १० का निश्चल विश्वकर्माले गोल गर्दै बेल्टारलाई आग्रता दिलाएका थिए भने खेलको १५ औं मिनेटमा जर्सि नंं १७ का सुनिल दनुवारले गोल गर्दै दुधौलीलाई खेलमा फर्काएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफको २२ औँ मिनेटमा जर्सि नं. २३ का जेबी राईले बेल्टारका लागी बिजयी गोल गरे ।
यस खेलको म्यान अफ द म्याच बेल्टारको जर्सि नं. २३ का खेलाडी जेबी राई बने । उनले नगद रु. १ हजार सहित फ्लेक्स, मेडल प्राप्त गरे । यस जित सँगै बेल्टार सेमिफाईनलमा प्रवेश गरेको छ । भोली (मंगलबार) दमौटी फुटबल क्लब बिरुद्ध नवबुद्ध युवा क्लब (सप्तरी) बिच हुनेछ । भोलीको खेलपश्चात सेमिफाईनल पुग्ने ४ वटै टोलीको टुङ्गो लाग्नेछ । यसअघि सगरमाथा फुटबल क्लब (राजावास) र फ्युजन फुटबल क्लब (बोक्से) सेमिफाईनलमा पुगिसकेको छ ।
यस प्रतियोगिताको विजेताले रु. ५१ हजार र उपविजेताले रु. ३१ हजार नगदसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । स्व. कैलाश राई युवा फुटबल खेलाडीहरुमाझ लोकप्रिय थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । कार्यक्षेत्रमा करेन्ट लागेर मृत्यु भएपछि उनको सम्झनामा गत वर्षदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।





