
पूर्णपुष्टि, कार्तिक ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने चेतावनी दिएका छन् । जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले तीन महिनासम्म पनि सरकारले उल्लेख्य काम गर्न नसकेको आरोप लगाए ।
“आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ,” प्रचण्डले भने । उनका अनुसार वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन । प्रतिनिधिसभामा पहिलो र दोस्रो ठूलो दल मिलेर तेस्रो दललाई किनारा लगाउने काम भएको भन्दै प्रचण्डले यसलाई अप्राकृतिक र अस्वाभाविक बताए । “संसदीय लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कहिल्यै सुनिँदैन,” उनले भने ।
