
पूर्णपुष्टि, असोज १२ । धनकुटाको पाख्रीबास र छथरजोरपाटी गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा एउटा घरमाथि पहिरो खस्दा ३२ वर्षीया आशा तामाङ र ५० वर्षीया राम कुमारी तामाङको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा २४ वर्षीया मिन माया तामाङ घाइते भएकी छिन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।
यसैगरी, छथरजोरपाटी गाउँपालिका–२ मा पनि पहिरोले एउटा घर पुरिँदा २० वर्षीया सृजना बाजिम्पाक मगर घाइते भएकी छिन् । उनलाई पनि उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धार कार्यमा संलग्न रहेको जनाइएको छ ।
