Thursday, April 30News That Matters

पाँचथरमा पहिरोले पुरिदाँ तीनको मृत्यु, चार बेपत्ता

पूर्णपुष्टि, असोज १२ । पाँचथरमा अविरल वर्षाका कारण गएको पहिरोले तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार फिदिम नगरपालिका १ साँगेबोटमा शनिबार बिहान गएको पहिरोले फुरुङ्गा हाइड्रो पावरका कर्मचारी ५० वर्षीय गोपी विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ ।

सोही घटनामा अन्य चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५१ बर्षीय कृष्ण दास, ४२ बर्षीय कमला दास, ५५ बर्षीय धन कुमार तुम्बापो र २१ बर्षीया सरस्वता तुम्बापो रहेका छन् । यसैगरी, फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले पुरिदाँ फिदिम–१२ की २४ वर्षीया सपना शेर्पा र उनकी ६ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । उनीहरू आदिवासी जनजाति महासंघको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा पहिरोमा परेका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटाई दुवै स्थानमा उद्धार र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।