
पूर्णपुष्टि, फागुन २२
धरानमा एक महिला उद्यमी तथा संञ्चारकर्मी मृत भेटिएकी छिन् । उनि आईतबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए । ४२ वर्षीया सुनिता केसी (राई) करिब डेढ दशकदेखि धरानको विजयपुर मिडिया ग्रुप प्रालीद्वारा संचालित विजयपुर एफएमको सदस्य र समाचार विभागका कार्यरत हुँदै पछिल्लो समयमा क्लिक धरान मिडिया प्रालिका प्रबन्ध निर्देशक रहेकी थिइन् । उनी नेपाल पत्रकार महासंघ सुनसरीको सदस्य र पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्य तथा महिला सञ्जाल धरानको नगर सदस्यसमेत रहेकी थिइन् ।

प्रहरीकाअनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । केही दिन अघि उनी स्कुटी दुर्घट्नामा परेपछि घरमै आराम गरिरहेकी थिइन । आइतबार बिहान उनका छोराहरु विद्यालय गएका थिए भने उनका श्रीमान् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अधिकृतका रुपमा कार्यरत रहेकोले कार्यालय गएका थिए ।
प्रहरी नायव उपरीक्षक कुँवरले प्रारम्भिक रुपमा हेर्दा केसीले आत्महत्या गरेको हुनसक्ने बताए । माइती पक्षबाट उपस्थित भएपछि सर्जमिन मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । उनका माइती काठमाडौंमा बस्दै आएका छन् । समाज सेवामा सक्रिय केसी लागुपदार्थ प्रयोगकर्ताको उपचारकालागि धरानमा प्रहरीको समन्वयमा संचालित आसरा सुधार केन्द्रको सदस्य तथा धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवन निर्माण समितिका अध्यक्ष रहेकी थिइन् ।

