
पूर्णपुष्टि, भदौ १४
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका– १७ का कोरोना सङ्क्रमित आमाछोराको मृत्यु भएको हो ।

धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया महिला र उनकै ६० वर्षीय छोराको मृत्यु भएको अस्पतालले जनाएको छ । वृद्धा आमालाई शनिबार राति प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको बिहान साढे ८ बजे मृत्यु भएको हो । मधुमेह, उच्च रक्तचापको बिरामी उनमा शनिबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनका छोराको बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई पनि शनिबार नै कोरोना पुष्टि भएपछि राति प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनमा मधुमेह र कलेजोको समस्या देखिएको प्रतिष्ठानले जनाएको छ ।
