Wednesday, April 29News That Matters

धामीझाँक्री को कुटाइ बाट महिलाको मृत्यु भएको आसङ्कामा सात जना पक्राउ

पूर्णपुष्टि, बैशाख ३

कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा झारफुकका क्रममा एक महिलाको मृत्यु भएपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ । धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

शुक्रबार राति झारफुकका क्रममा कुटपीटबाट ४२ वर्षीया रञ्जुला साउँदको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।
प्रहरीका अनुसार साउँद केही दिनदेखि बिरामी परेकी थिइन् । शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि झारफुकका लागि पुगेकी उनको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहलेघटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनले धामीझाँक्रीकै कारण हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा भन्न नसकिने बताए ।