Monday, June 15News That Matters

नक्कली परिचय पत्र देखाई ‘विशेष प्रहरी हुँ’ भन्दै व्यवसायी धम्क्याउने चार जना पक्राउ

पूर्णपुष्टि, जेठ ४ । चितवनमा नक्कली परिचय पत्र देखाएर ‘विशेष प्रहरी हुँ’ भन्दै व्यवसायीलाई धम्क्याउने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार उनिहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको हो । भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र तथा केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको एसपी कार्कीले बताए । लिखद सम्बन्धि मुद्दामा सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ।