
पूर्णपुष्टि, जेठ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टचारविरुद्ध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहोदाका नेताहरुको संलग्नता देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ।
राप्रपाका उपाध्यक्ष रोशन कार्कीले आज दिउँसो १ बजे हनुमानढोका दरबार क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न लागेको बताएका छन् । उनका अनुसार पार्टी केन्द्रिय समितिले जेठ १, २ र ३ गते बसेको बैठकले गरेको निर्णय अनुसार नै प्रदर्शन गर्न लागेको हो ।
राप्रपाको बैठकले नक्कली शरणार्थी प्रकरणलाई राज्य द्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो भने माओवादी लडाकु शिविर प्रकरण, ललिता निवास काण्ड, एनसेल आदि सतहमा आएका विषय छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो । आजको विरोध प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम छ।
