
पूर्णपुष्टि, जेठ ८ । चिनियाँ नागरिकसँग नक्कली विवाह गराएर नेपाली युवतीको बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा वाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भई हाल चीनमा बस्दै आएकी ४३ वर्षीया मनमाया घले छिन् ।
पीडितले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले उनलाई ठमेलबाट पक्राउ गरेको हो । ब्यूरोका एसपी गौतम मिश्रका अनुसार ती महिलालले आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरे पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै प्रलोभन देखाएकी थिइन् ।
केटा धनी रहेको भन्दै ती महिलाले नेपाल आउजाउ गर्न मिल्ने समेत भनेको अनुसन्धानको क्रममा खुलेको छ । त्यसपछि चिनियाँ नागरिकसँगको मिलेमतोमा पीडितलाई जिल्ला अदालत, काठमाडौंमा लगेर ललाइफकाई १२ चैत २०७९ मा अदालती विवाह गराएको एसपी मिश्रले बताए । विवाहपछि १ वैशाख २०८० मा उनलाई चीन लगेर घले भने नेपाल फर्किएको खुलेको छ । चीनमा भने पीडितलाई यौन शोषण गरेको खुलेको मिश्र बताउँछन् ।
‘विभिन्न व्यक्तिहरुसँग जबर्जस्ती वेश्यावृत्तिमा लगाएको समेत खुलेको छ, घलेले उनलाई ५ लाख रुपैयाँ लिएर बेचबिखन गरेको समेत अनुसन्धानबाट देखिएको छ’, उनले भने, ‘पछि पीडितले आफन्तलाई सम्पर्क गरेपछि चीनस्थित नेपलाी दूतावाससँगको समन्वयमा १ असार २०८० मा उनको उद्दार भएको थियो ।’ यस घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।