
पूर्णपुष्टि, जेष्ठ, ८
नेपालले सार्वजानिक गरेको नयाँ नक्साबारे छिमेकी राष्ट्र भारतले आपत्ति जनाएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले बुधबार जारी गरेको नयाँ नक्साप्रति छिमेकीले यस्तो प्रतिक्रिया दिएको हो । ’नेपालको यो एक पक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको प्रतिक्रिया सहित आपत्ति जनाएको हो ।
भारतले दुई देशबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने समझदारीको विरूद्ध रहेको आरोप नेपाललाई लगाएको छ ,’ बनावटी रूपमा गरिएको भू(भाग बढोत्तरीको दाबी भारतलाई मान्य नभएको पनि भारतले बताएका छन् ।’बुधबार नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सामा भारतीय भूमि समेटिएको दाबी गरेका छन् ।
उनले नेपाल यो विषयमा भारतले निरन्तर रूपमा राखिरहेको अडानबारे जानकार भएकाले नेपाल सरकारलाई अनुचित रूपमा नक्सा जारी गर्ने कदम रोक्न र भारतको सम्प्रभुता र अखण्डताको सम्मान गर्न आग्रह गरे । नेपाली नेतृत्वले दुई देशबीचको सीमा विवाद कूटनीतिक वार्ताका माध्यमबाट सल्टाउन सकारात्मक वातावरण बनाउने प्रवक्ता श्रीवास्तवले आशा व्यक्त गरे ।
नेपाल सरकारले सुगौली सन्धीलगायत ऐतिहासिक दस्तावेजमा लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि भएको उल्लेख गर्दै ती क्षेत्रलाई समेटेर बुधबार नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्साको आम प्रयोगका लागि संविधानको निशान छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
