Monday, April 20News That Matters

नेपालका लागि बरदानः जल, जमिन र जङ्गल

नेपालका विद्यमान स्रोतहरूको सचेतनापूर्वक उपयोग गरियो भने तिनले निरन्तर उत्पादन दिइरहन्छन् । त्यो उत्पादन नेपालीको सुख सम्पन्नताका लागि पर्याप्त मात्र होइन छेलोखेलो हुन्छ ।


जयप्रसाद लम्साल (पिएच.डी.)

मुलुकको उन्नति र सम्पन्नताका लागि जल, जमिन, जङ्गल, खानी र जनशक्ति वा मानवशक्ति मुख्य स्रोत मानिन्छन् । यी सबैको आआफ्नै महत्व छ । जलस्रोत वा पानी अनेकन प्रकारले उपयोग हुने स्रोत हो । मानिसको प्राण धान्न पानी पिउनै पर्ने हुन्छ । घरधन्दा र सफाइका लागि पनि पानी त्यतिकै आवश्यक छ । पशुपालनका लागि पनि पानी अवश्यक हुन्छ । खेतीका लागि सिचाइ गर्न र जमिनलाई हरियाली बनाउन पनि पानी नभइ हुँदैन । पानी नभएको जमिन मरुभूमि हुन्छ । पानीबाट सस्तो लगानीमा वातावरणमा असर नगर्ने गरी विद्युत शक्ति उत्पादन गर्न सकिन्छ । मुलुकमा पर्याप्त विद्युत शक्ति उत्पादनको बहुआयामिक प्रभाव हुन्छ । विद्युत शक्तिको सहज आपूर्तिले घरायसी जीवन त सहज हुन्छ नै यसले मुलुकभित्र कृषि, उद्योग र व्यपार जस्ता आम्दानीका तीन ओटै क्षेत्रको विकासमा सघाउ पुग्छ । ठुलो परिमाणमा जल विद्युत उत्पादन गर्नसक्ने मुलुकले विद्युत शक्तिकै निकासीबाट पनि आम्दानी गर्न सक्दछन् । जलस्रोतको उपयोगबाट मुलुकको उत्पादन् र आम्दानी मात्र बढने होइन मुलुकको हरियाली र सुन्दरता पनि बढ्छ । त्यहाँको वातावरण सन्तुलनमा सहयोग पुग्नेहुन्छ । यस्तै प्रकारले जमिनबाट अनेक प्रकारका कृषि उपज पाउन सकिन्छ । जङ्गलबाट अनेक प्रकारका वन पैदावार पाउन सकिन्छ । खानीबाट अनेकन खनिज वस्तु पाउन सकिन्छ । यी सबै स्रोतले मानव श्रम र सेवाको उपयोगबाट मात्र उत्पादन दिने हुनाले मानव शक्तिलाई पनि मुलुकको उन्नतिको प्रमुख स्रोत मानिन्छ ।
नेपाल जल जमिन र जङ्गल जस्ता स्रोतमा धनी मुलुक हो । मानव शक्तिमा पनि नेपालमा पन्द्रदेखि साठी वर्ष उमेर समूहका क्रियाशील समूहको सङ्ख्या ठुलो छ । नेपाललाई खानी र खनिज वस्तुमा भने धनी भन्न सकिने अधार छैनन् ।
जलस्रोत नेपालको मुख्य स्रोत हो । यहाँ करिब छ हज्जार खोला नाला र विभन्न ताल पोखरी रहेका छन् । यहाँ भूमिगत स्रोतबाट पनि केही मात्रामा पानीको आपूर्ति हुनसक्छ । नेपालमा वर्षाको पानीले खेती बालीका लागि ठुलो काम गरे पनि त्यसको ठुलो हिस्सा भने भल बनेर बगेर खेर गइरहेको छ । नेपालले जल विद्युत उत्पादन र सिचाइका माध्यमले उपलव्ध जलस्रोतबाट अधिकतम् फाइदा लिनसक्ने देखिन्छ । भनिन्छ नेपालमा करिब बयासी हज्जार मेगावाट जल विद्युत उत्पादन गर्नसकिने सम्भावना छ । नेपालले यसको पच्चिस तिस प्रतिसत मात्र उत्पादन गर्न सकयो भने पनि नेपालको कायापलट हुनसक्छ । नेपालको सम्पूर्ण उर्जा सङ्कट सदाका लागि अन्त्य हुन्छ । यहाँका सबै सडक गल्ली र घर झलमल्ल हुन्छन् । सबै जसो घरमा बिजुलीले खाना पाक्छ । सबै जसो मेसिन कलकारखाना र यातायात साधन बिजुलीले चल्छन् । यसबाट महगो खनिज तेलको ठुलो हिस्सा बिस्थापित गरेर राष्ट्रिय आम्दानीमा बचत गर्न सकिन्छ । मुलुकमा खनिज तेलको सट्टा विद्युत शक्तिको उपयोग बढदा धुवाँ कम भएर वातावरण प्रदुषणमा पनि कमी आउँछ । विद्युत शक्तिबाट खोलाको पानी लिफ्ट गरेर पानी नभएका डाँडाका गाउँ बस्तिका बासिन्दाको खानेपानी समस्या हल गर्नसकिन्छ । लिफ्टका माध्यमले गाउँ बस्ति र सुख्खा जमिनमा आवश्यक पानी लैजान सकेमा पशुपालन ब्यबसाय पनि फस्टाउँछ । मदेसका उच्च जमिन र पहाडका सबै पाखा जमिनको सिचाइका लागि लिफ्ट सिचाइ मात्र एउटा बिकल्प हो । नेपालले देश भित्रको उर्जा अवश्यकता पुरा भएपछि उभ्रेको जल विद्युत निकासी गरेर विदेशी मुद्रा आर्जन गर्नसक्ने पनि देखिन्छ । नेपालमा यतिखेर केही जल विद्युत आयोजना कार्यान्वयनका चरणमा छन् । यी आयोजना सम्पन्न भइदिए भने पनि नेपालका अनेकन आर्थिक समस्या र जटिलताका गाँठाहरू फुक्तै जान्छन् ।
नेपालमा उपलव्ध पानीले यहाँको अधिकतम सुख्खा जमिनमा सिचाइ गर्न सकिन्छ । यसका लागि नहर, कुलो, लिफ्ट बोरिङ जस्ता स्थान विशेषका लागि सुहाउँदा तरिका अप्नाउनु पर्ने हुन्छ । कतिपय स्थानका लागि भने आहाल, पोखरी र ताल बनाएर संरक्षण गरिएको वर्षादको पानी पनि उपयोग गर्नुपर्ने हुन्छ । यसरी सिचाइलाई सहज गराउन सकेमा पानी नभएर बाँजो रहने जमिनमा सहजै खेती गर्न सकिने, पानी नपुगेर कम उत्पादन हुने जमिनमा उत्पादन बढ्ने, एक मात्र बाली लाग्ने जमिनमा दुई तीन बाली लाग्न सक्नेहुन्छ । यसले नेपालको कृषि उत्पादनमा उल्लेख्य बृद्धि हुनसक्तछ ।
नेपालमा जलस्रोतको उपयोगबाट यहाँको उत्पादन् र आम्दानी मात्र बढने होइन यहाँको हरियाली र सुन्दरता पनि बढ्छ । पानी नभएको सुख्खा उजाड डाँडामा चार इन्चको पाइपमा पानी पुर्याउन सकियो भने त्यस डाँडाको रूपै परिवर्तन हुनसक्छ । त्यहाँ हिउँद महिनामा पनि बोट बिरुवा बालीनाली लहलह हुनसक्छन् । बोट बिरुवामा फूल फूलेका र फल लागेका देख्न पाइद्न्छ । त्यस्तै प्रकारले कुनै उराठ लाग्दो डाँडामा सानो पोखरी खनेर त्यसमा बर्खाको पानी भर्न सकियो भने त्यस डाँडाको भिन्नै आकर्षण हुन्छ । त्यस पोखरीमा तिर्खाएका जीव जनावर चराचुरुङ्गी आएर पानी पिउदैगरेको द्श्य देख्न सकिन्छ । मुलुक भरका सुख्खा ठाउँमा यस प्रकारले पानी पुर्याएर चिस्यान कायम गर्न सकियो भने नेपालको वास्तिवक रूपको भेउ पाउन सकिन्छ ।
नेपालको दोस्रो ठुलो स्रोत जमिन हो । यहाँको जमिनमा मानिसले खानेगरेका धेरैजसो खाद्य वस्तु उब्जाउन सकिन्छ । नेपाल सानो मुलुक भए पनि यहाँको हावापानी र माटोको विविधताका कारण यहाँ विभिन्न जातका खाद्यान्न, तरकारी, फलफूल, कन्दमूल, दलहन (गेडागुडी), तेलहन, मसलाजन्य बाली र फूलको खेती गर्न सकिन्छ । माटो र सिचाइका अधारमा यहाँ धान, मकै, कोदो, गहुँ जस्ता अन्न बाली र फापर, कागुनु, जुनेलो, लट्टे जस्ता स्थानीय बाली उब्जाउने गरिएको छ । सिचाइ बढाउन सकेमा परम्परादेखि लगाइआएको बालीको सट्टा बढी फाइदा दिने बाली रोज्न सकिन्छ। नेपालमा तरकारीमा अनेक जातका साग, लहरे तरकारी, काउली, ब्रोकाउली, बन्दाकोबी, कुरिलो, कर्कलो, निगुरो, च्याउ, गोलभेँडाआदि उब्जन्छन् । यहाँ बारै महिना हरियो ताजा तरकारी उपलव्ध हुनसक्छन् । फलफूलका लागि नेपालको माटो त्यतिकै उर्बर छ । यहाँ आँप, केरा, सुन्तला, जुनार, स्याउ, नासपाती, कटहर, भूइँकटहर, अबोगार्डो, किबी, ज्याक फ्रुट, स्टबेरी, कागती आदिको खेती हुनसक्छ । सप्तरी सिराहा र धनुषा जिल्लामा उत्पादन हुने मालदह आँपको स्वाद अमृत तुल्य हुन्छ । डोल्पाको स्याउ पनि त्यतिकै दामी छ । नेपालमा अम्बा खेतीलाई खासै महत्व दिइएको छैन । नेपालको मध्य पहाडको पुरै भूभागमा राम्रा जातका अम्बा लगाउन सकिन्छ । यसबाट ठुलो परिमाणमा अम्बाको जुस र मदिरा उत्पादन गर्न सकिन्छ । नेपालमा बुटामा फुल्ने गुलाफ, बेली, चमेली, जाई, करबीर जस्ता बहुवर्षे रैथानै फूल सयपत्री, गोदाबारी, लाहुरी लगायतका एक सिजनका लागि फुल्ने फूल र टुलिप जातका आयातित फूलको पनि व्यावसायिक खेती हुन सक्तछ ।
नेपालमा ठुलो परिमाणमा आलु, सखरखन्ड र तरुल जस्ता कन्दमूलको पनि खेती हुन सक्तछ । तर नेपाली समाजले यस्ता खाद्य वस्तुलाई हेला गर्ने गर्दछ । यी सबैमा कार्बोहाइड्रेटको मात्रा उच्च हुने भएकाले चामल जतिकै खाद्य वस्तु हुन् । नेपालमा उब्जाउन सकिने गेडागुडी वा दलहनमा मास, भटमास, केराउ, चना, बोडी, गहत, मस्याम र अनेक जातका सिमी पर्दछन् । त्यसैगरी तेलहनमा तोरी, तील, सूर्यमुखि फूल, चिउरी अदि उब्जाउन सकिन्छ । नेपालमा उब्जने मसला बालीमा अलैची, अदुवा, बेसार, खोर्सानी, लसुन, प्याज, टिमुर आदि मुख्य छन् । यहाँबाट अलैची, अदुवा र बेसारको निकासी पनि हुनेगरेको छ । नेपालमा केही वर्षदेखि राम्रो फाइदा दिने रुद्राक्ष र बोधिचित्तको खेतीपनि हुँन थालेको छ । यहाँ महगो अत्तर बनाउन प्रयोग हुने अगरुढ नामकोवनस्पति (रूख) को पनि खेती गर्न सकिने देखिएको छ । नेपालले खेती प्रणालीमा थोरै अध्ययन अनुसन्धान र सुधार गर्ने हो भने नेपाल धेरै प्रकारका कृषि उपजमा अत्मनिर्भर हुने मात्र होइन निकासी पनि गर्नसक्छ । यहाँका बहुसंख्यक नेपालीहरू कृषिबाट आफू र देशका लागि केही हुन्छ भनेर खटैर लाग्ने हो भने हिमालको फेदमा पुरै हरियाली छाउँछ, यहाँका खेतीपाति भइरहेका जमिनमा मात्र होइन रुख्खा सुख्खा भनिएका जमिनमा समेत कतै लटरम्म फल फलेका बगैचा र कतै ढकमक्क फूल फूलेका नर्सरी देख्न पाइन्छ।
नेपाल पशुपक्षी पालनका लागि पनि त्यतिकै सम्भावना भएको मुलुक हो । यहाँ गाई, भैँसी, भेडा, बाख्रा, बङ्गुर, कुखुरा, कालिज, अष्ट्रिच, माछा र माहुरी पालन गर्न सकिन्छ । नेपालीलाई आफ्नै देशको पशुपक्षी पालनबाट पर्याप्त मात्रामा दुध, दही, घिउ, मख्खन, चिज पनिर जस्ता दुग्ध पदार्थ र मह, अन्डा र मासु उपलब्ध हुनसक्तछ ।
भनिन्छ, नेपालको करिब ४० प्रतिसत भूभाग वन जङ्गलले ओगटेको छ । हामी आम सर्वसाधारण नेपालीलाई वन जङ्गल भनेको हरियाली र पर्याबरणका लागि मात्र हो भन्ने जस्तो लाग्दछ । तर वन जङ्गल यी दुई कुराका लागि मात्र नभएर खेती बालीको जमिन जस्तै विभिन्न प्रकारका रूख बिरुवा, घाँस, जडिबुटी र तरकारी बाली लगाएर आमदानी गर्न सकिने ठाउँ पनि हो । यसरी वन जङ्गलको बहु उपयोग हुन सकेमा वन जङ्गल पनि नेपाल र नेपालीको सुख सम्पन्ताको स्रोत हुनसक्छ। नेपालको वन जङ्गलमा हावापानीअनुसार साल, सिसौ, सल्ला, साज, उत्तिस, सिमलपौलोनियाँ जस्ता जातका काठका रूख लगाउन सकिन्छ । यसबाट नेपालका लागि फर्निचर र अन्य निर्माण कार्यका लागि नेपालकै काठ पर्याप्त हुनसक्छ । नेपालमा करिब सात हज्जार प्रकारका औषधीय गुण भएका बनस्पति पाइन्छन् भन्ने गरिन्छ । तत्कालीन श्री ५ को सरकार र आइ यु सी एन ले सन २००० मा प्रकाशन गरेको नेसनल रजिष्ट्रेसन अफ मेडिकल प्लान्ट्समा नेपालमा पाइने एक सय अन्ठाउन्न जातका जडिबुटीको सूचि दिइएको देखिन्छ । नेपालमा एक सय उन्चालिस प्रकारका जडिबुटिको ब्यशपारिक कारोबार हुने गरेको भनिन्छ । वनको खाली जमिनमा यस्ता जडिबुटीको खेती गरेर नेपालले पर्याप्त आमदानी गर्नसक्छ । यहाँको वन जङ्गलमा अनेक जातका डाले घाँस र भूइँ घाँस लगाएर ठुला ठुला पशु गोठ विकास गर्न सकिन्छ । बस्ति नजिकका वन जङ्गलमको खाली जग्गामा सजिउन, कुरिलो, कर्कलो, निगुरो, सिमसाग जस्ता तरकारीको खेती गर्दा पनि हुन्छ । पानी उपलव्ध हुने वनको खाली जमिनमा ताल पोखरी बनाउने र हरिया रूख बिरुवा र फूल लगाउने गरेर पर्यटक आकर्षणका लागि व्यबस्थित पार्क थप गर्नपनि सकिन्छ ।
केही नेपाली यहाँका खेर गइरहेका स्रोतको महत्व नबुझेर खनिज तेल र अन्य मुल्यवान खनिज वस्तु नभएको कारणले नेपालको आर्थिक उन्नतिको गति ढिलो भएको भन्ने गर्छन् । हो, नेपालमा धेरै मात्रामा खनिज तेल छैन । भएको तेल प्रसोधन र उत्पान गर्न पनि खर्चिलो छ । त्यसैगरी नेपालमा सून चाँदी र प्लाटिनम जस्ता मूल्यवान खनिज पनि छैनन् । तर मुलुकको विकास र सम्पन्नताको मूल आधार खनिज तेल र मूल्यवान खनिज वस्तु नै हुन् भन्ने कुरा होइन । विश्वका केही विकसित मुलुकले ज्यादै न्यून स्रोतको उपयोग गरेर पनि धेरै ठुलो उन्नति गरेका छन् । मुलुकको उन्नतिका लागी मुलुक भित्रै खनिज तेल र महगा खनिज वस्तु हुनुपर्छ भन्ने होइन । खनिज तेल अनविकरणीय उर्जा स्रोत हो । प्रयोग गर्दैजाँदा कुनै दिन खनिज तेल रित्तिन पनि सक्छ । खनिज तेलको प्रयोगबाट कार्बन उत्सर्जन भइ धरतिमा प्रदुषण र तापमान बढिरहेकाले रित्तिनु अगावै यसको प्रयोगमाथि नियन्त्रण गर्न अवश्यक भइसकेको छ । सिमित मात्रामा पाइने मुल्यवान खनिजको जति बढी खोदाइ गर्यो त्यतिनै छिटो रित्तिने सम्भावना हुन्छ । नेपालका विद्यमान स्रोतहरूको सचेतनापूर्वक उपयोग गरियो भने तिनले निरन्तर उत्पादन दिइरहन्छन् । त्यो उत्पादन नेपालीको सुख सम्पन्नताका लागि पर्याप्त मात्र होइन छेलोखेलो हुन्छ ।

(लेखकका यससँग सम्बन्धित लेखहरू हरेक मङ्गलबारको अङ्कमा नियमित प्रकाशित हुने छन् ।)