Thursday, April 30News That Matters

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालविकास सम्मेलन हुँदै

पूर्णपुष्टि, मंसिर ७ । पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले नेपालमा पहिलो पटक बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ । विराटनगरमा मंसिर २१ र २२ गते आयोजना हुने उक्त सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको छ ।

शिक्षाशास्त्र संकायका डिन अनिल पोखरेलका अनुसार सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, मलेसिया, बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागिता रहनेछ । सम्मेलनमा बालविकासका विविध पक्षमा प्राज्ञिक बहस र विमर्श गरिने छ ।

कार्यक्रममा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकास क्षेत्रको जनशक्ति विकास, जलवायु परिवर्तनको प्रभाव र प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन लगायतका विषयमा ४० भन्दा बढी सहभागीले आफ्ना अनुसन्धान प्रस्तुत गर्नेछन् । साथै बालबालिका केन्द्रित कार्यशाला र प्रदर्शनी पनि आयोजना गरिने छ ।

सम्मेलनमा बेलायतका प्रोफेसर करेन ग्रहाम, अमेरिकाका इल्सा चाहिन, लोरेन वेब्राइट र क्रिष्टिन हैगेन, भारतका चिराश्री घोस, नेपालका मिनाक्षी दाहाल तथा मलेसियाका ली जेन यून र आनी शिवानाथान लगायत विज्ञहरूले बालविकास र प्रारम्भिक शिक्षा सम्बन्धी विषयमा आफ्ना विचारहरू राख्ने कार्यक्रम रहेको छ ।