
पूर्णपुष्टि, असोज २७ । इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा जानकारी दिएको छ ।
इजरायली सेना आईडीएफका एक अधिकारीले स्थानीय समयअनुसार आज बिहान साढे ७ बजे भिडियो कन्फरेन्समार्फत यो दुःखद समाचार दिएका हुन् । भिडियो कन्फरेन्समा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारी सहभागी थिए । राजदूत पण्डितले आईडीएफका अधिकारीले स्पष्ट रूपमा विपिन जीवित नरहेको बताएका छन् ।
कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल गएका थिए । गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा उनी बन्धक बनाइएका थिए । सोही आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजाको अल शिफा अस्पतालमा देखिएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेको थियो । गत बुधबार उनको एक पुरानो भिडियो सार्वजनिक भएको थियो ।
अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम भएपछि आज हमासले २० जना बन्धक रिहा गर्ने कार्यक्रम रहेको छ । तर त्यस सूचीमा विपिनको नाम समावेश छैन । विपिनको अवस्था पत्ता लगाउन सरकारको पहलमा उनकी आमा र बहिनी इजरायल गएर फर्किएका थिए । हाल उनीहरू अमेरिकामा रहेका छन् । नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखे पनि सकारात्मक नतिजा आउन सकेको थिएन ।
