Tuesday, July 7News That Matters

प्रतिनिधि सभा सभामुखको निर्वाचन आज

पूर्णपुष्टि,माघ ५ । प्रतिनिधिसभाका सभामुख पदका लागि आज (विहिवार) निर्वाचन हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार आज विहान ११ बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान हुने भएको हो ।

सभामुखका लागि प्रतिश्पर्धामा दुई जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका इश्वरी न्यौपानेले मनोनय दर्ता गराएका छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन्। घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएकी इश्वरीदेवी न्यौपानेको प्रस्तावक नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला समर्थकरहेका छन्। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ पुसमा बसेको थियो ।