
सुनिल राई, गाईघाट ।
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ मा चलिरहेको प्रथम त्रियुगा जलजले महोत्सव २०८१ आज समापन हुँदैछ । ‘स्वदेशमै शिक्षा, रोजगार, कृषि, पर्यटनसँगै स्थानीय व्यवसायी प्रवर्धन क्षेत्रमा लगानी विस्तार’ भन्ने मूल नाराका साथ स्वर्णिम युवा क्लब जलजलेको आयोजना तथा त्रियुगा नगरपालिकाको संयोजनमा गत माघ २३ गतेदेखि उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा महोत्सव सञ्चालन भइरहेको थियो ।
आज महोत्सव समापनको अन्तिम दिन राष्ट्रिय कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को विशेष प्रस्तुति रहने छ । पर्यटन प्रवर्द्धनको उद्देश्यले आयोजना गरिएको महोत्सवबाट उठेको रकमको ४० प्रतिशत जलजले नजिकै रहेको पोखरीमा पार्क निर्माण र बोटिङका लागि लगानी गरिने आयोजकले जनाएका छन् ।
महोत्सवको समापन समारोहमा विभिन्न समुदायबाट झाँकी प्रदर्शन गरिनुका साथै सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो । महोत्सवमा स्थापना गरिएका एक सयभन्दा बढी स्टलहरूमा विभिन्न जातिका परिकारहरू, हस्तकला, कृषि उत्पादन, औद्योगिक उत्पादन लगायत स्थानीय उत्पादनहरू प्रदर्शन तथा बिक्री वितरण गरिएको छ ।
आयोजकका अनुसार महोत्सवमा उदयपुर जिल्लाका विभिन्न स्थानहरूबाट दैनिक हजारौं दर्शकहरूको उपस्थिति रहेको र यसले स्थानीय व्यापार व्यवसायलाई समेत उल्लेख्य रूपमा टेवा पुर्याएको छ । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजित यस महोत्सवलाई आगामी वर्षहरूमा थप व्यवस्थित र आकर्षक बनाउँदै लैजाने योजना रहेको आयोजकले बताएका छन् ।