Monday, February 17News That Matters

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पूर्व सांसद कार्की ६ महिनाका लागि निलम्बित

पूर्णपुष्टि, माघ २ । एमाले कोशी प्रदेश कमिटीले पूर्वप्रदेश सांसद बिमल कार्कीलाई ६ महिनाका लागि पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ । पौष २७ र २८ मा बसेको प्रदेश कमिटी बैठकले यो निर्णय गरेको हो ।

कार्कीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध सामाजिक सञ्जालमा लेखेका पोस्टहरूका कारण उनीमाथि कारबाही भएको एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीले जानकारी दिए । यसअघि मंसिर १६ मा पार्टीले कार्कीलाई स्पष्टीकरण सोधेको थियो ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार कार्कीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई निलम्बन गरिएको हो । तर कार्कीले भने आफूमाथि भएको कारबाहीबारे कुनै जानकारी नपाएको र पार्टीभित्रको बेथितिविरुद्ध आवाज उठाएकै कारण कारबाहीमा परेको हुनसक्ने बताएका छन् ।

उदयपुर क्षेत्र नम्बर १ (१) बाट २०७४ मा प्रदेश सांसदमा निर्वाचित कार्की प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य हुन् । यसैबीच प्रदेश कमिटी बैठकले अन्य तीन जना प्रदेश कमिटी सदस्यलाई पनि स्पष्टीकरण सोधेको छ ।